दक्षिण कोरियाको आर्थिक वृद्धिदरमा अत्यधिक गिरावट, नेपाली मजदुर प्रभावित हुनसक्ने

Posted on: 24 Jul, 2020

साउन ९, सिउल। दक्षिण कोरियाको आर्थिक वृद्धिदरमा अत्यधिक गिरावट आएको छ । बैंक अफ कोरियाले बिहीबार प्रकाशित गरेको एक तथ्याङ्कअनुसार कूल ग्राहस्थ उत्पादनमा कमी आएसँगै आर्थिक वृद्धिमा कमी आएको हो । पछिल्ला तीन महिनामा आर्थिक वृद्धि तीन दशमलव तीन प्रतिशतले गिरावट आएको छ । यो गिरावट दोस्रो त्रैमासिकको तुलनामा १.३ प्रतिशतले बढी हो । 

केन्द्रीय बैंकका अनुसार हालको आर्थिक वृद्धिदर सन् १९९८ यताकै सबैभन्दा कमजोर हो । उक्त समयमा कोरियालागायत एशियाव्यापीरूपमा आर्थिक मन्दी छाएको थियो । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण अप्रिलदेखि जुनसम्मको कूल ग्राहस्थ उत्पादनमा २.९ प्रतिशतले कमी भएको छ । यसले कोरियामा रोजागारी गरिरहेका नेपालीलगायत अन्य देशका मजदुरलाई पनि अप्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।

दक्षिण कोरियाको ठूलो अर्थतन्त्र निर्यातमा निर्भर पर्छ, तर पछिल्लो त्रैमासिकमा उत्पादित सामान निर्यातमा भारी गिरावट देखिएको छ । यातायातका साधन तथा स्मार्ट फोनहरूको निर्यातमा १३.६ प्रतिशतले गिरावट आएको छ । निर्यातमा आएको यो गिरावट सन् १९७४ पछिको सबैभन्दा धेरै हो । रासस 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!