‘भिटामिन ‘डी’को कमी भए कोरोना सङ्क्रमणको खतरा बढी, भिटामिन डी बढाउन के गर्ने ?'

Posted on: 26 Jul, 2020

साउन ११ , जेरूसेल | इजरायली अनुसन्धानकर्ताहरूको एक अध्ययनले रगतमा भिटामिन ‘डी’को कमी भएका व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको खतरा बढी रहने देखाएको छ । 

लिउमिट स्वास्थ्य सेवा तथा बार इलान विश्वविद्यालयको अध्ययन सार्वजनिक गर्दै एफइबीएस नामक स्वास्थ्यसम्बन्धी पत्रिकालाई उद्धृत गर्दै आइतबार इजरायली अधिकारीहरूले उक्त कुरा बताएका हुन् । अनुसन्धानकर्ताहरूले भने, “कोरोनाभाइरस र भिटामिन ‘डी’ परीक्षण गरिएका लिउमिट समूहका सात हजार ८०७ व्यक्तिहरूमध्ये जसको रगत परीक्षणका क्रममा भिटामिन ‘डी’ को कमी थियो उनीहरूमध्ये धेरै सङ्क्रमित थिए ।”

उक्त समूहले भिटामिन ‘डी’ को कमी देखिएकामध्ये १०.१ प्रतिशत व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित पाइएको बताएको छ । सङ्क्रमण नदेखिएका व्यक्तिकोभन्दा सङ्क्रमण देखिएका व्यक्तिमा भिटामिन ‘डी’ को मात्रा स्वभाविक धेरै भेटिएको थियो ।

अनुसन्धानले प्रतिमिलिलिटर ३० नानोग्राम भिटामिन ‘डी’ भएका व्यक्ति सजिलै सङ्क्रमित हुने खतरा बढी रहेको पाइएको बताएको छ । जबकि भिटामिन ‘डी’ को मात्रा सामान्य रहेका व्यक्ति तुलनात्मक रूपमा भिटामिन ‘डी’को कमी भएका व्यक्तिभन्दा कम सङ्क्रमित पाइएका थिए ।

यसैगरी भिटामिन ‘डी’ को कमी भएका कोभिड–१९ सङ्क्रमितलाई सङ्क्रमणपछि पनि गम्भीर समस्या देखिने र अस्पताल भर्ना गर्नुपर्ने देखिएको अध्ययनको निष्कर्ष रहेको छ । अचम्मको अर्को कुरा के छ भने अध्ययनले मनोभ्रंश, मुटु रोग र फोक्सोको समस्या रहेका विरामी भएकै कारण उनीहरूमा कोभिड–१९ सङ्क्रमण दर बढी नपाइएको बताएको छ ।

भिटामिन डी बढाउन के-के खाने ? 

भिटामिन डी मानिसको शरीरको लागि अति आवश्यक पौष्टिक तत्व हो । यसको कमीले शरीरमा क्याल्सियमको शोषण कम हुन्छ र विभिन्न शारीरकि समस्या निम्तिन सक्छ। भिटामिन 'डी'को कमीले बालबालिकाको हातखुट्टा बाँगिने समस्या 'रिकेट्स' हुन्छ। यसको कमीले विभिन्न किसिमका संक्रामक रोग पनि लाग्न सक्छ। गर्भवती महिलाको शरीरमा भिटामिन 'डी'को कमी हुँदा गर्भको बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। यस्ता समस्या रोक्न घर-आँगनमा छताछुल्ल निःशुल्क रूपमा प्राप्त हुने सूर्यको किरणमा बस्न सिकाउनुपर्ने भएको छ। खासगरी किशोर-किशोरी र युवा छाला कालो हुन्छ भनेर घाममा बस्न हिच्किचाउँछन्। तर, उनीहरूलाई सिकाउनुपर्छ कि १५ देखि २० मिनेट सूर्यको किरणमा बस्नाले हाड बलियो हुनुका साथै उनीहरूको स्वास्थ्यलाई धेरै फाइदा हुन्छ। भिटामिन 'डी' भिटामिन मात्र होइन, यसले शरीरमा हर्मोनको पनि काम गर्छ। जब सूर्यको किरणले छालामा छुन्छ, तब यसले भिटामिन 'डी'लाई हर्मोन 'डी थ्री'मा बदल्छ र शरीरलाई स्वस्थ्य बनाइराख्न सकारात्मक भूमिका निर्वाह गर्छ।

भिटामिन ‘डि’ किन?

– कुनै पनि रोगसँग लड्ने प्रतिरक्षा शक्ति विकास गर्ने

– शरीरमा हुन सक्ने कुनै पनि संक्रमणबाट बाच्न

– मस्तिष्कको क्रियाकलापमा सुधार ल्याउन

– शरीरमा क्यान्सरको कोष वृद्धि हुन नदिन

– प्रफुल्ल मन्द्रा र राम्रो निन्द्रा बनाउन

– मुटु रोगको जोखिमबाट बच्न

भिटानिम डीको मुख्य स्रोत सूर्यको प्रकाश हो । तसर्थ दैनिक कम्तीमा २० देखि ३० मिनेट शरीरले सोस्ने गरी ताप्नु पर्छ । सूर्यमा सीधै सम्पर्क हुन सकेन या शरीरले कुनै पनि माध्यमबाट सोस्न पाएन भने शरीरमा भिटामिन डीको कमी हुन्छ । सूर्यको प्रकाशबाहेक सामुद्रिक खानाहरू माछा, मासु तथा अन्डामा पनि भिटामिन डी पाइन्छ । यी खानेकुराको कमीले पनि भिटामिन डीको कमी हुन्छ।

भिटामिन ‘डी’ को कमी हुँदा देखिने लक्षणहरू

– ज्यादै थकाइ लाग्ने

– शरीर कमजोर भएको महसुस हुने

– हिँड्डुल गर्नसमेत कठिन हुने

– शरीरमा बारम्बार किटाणु संक्रमण हुने

त्यसो भए भिटामिन ‘डी’ पूर्ति कसरी गर्ने ?

भिटामिन ‘डी’ कमी हुनुको कारण पत्ता लगाई औषधि सेवन गर्नुपर्छ । भिटामिन ‘डी’ भएका खानेकुराहरू खाएर पनि यसको पूर्ति गर्न सकिन्छ । तर खानेकुराबाट पूरै पूर्ति गर्न सम्भव नहुने चिकित्सक बताउँछन्। 

उपत्यकामा बसोबास गर्ने हरेक पाँच जनामध्ये चारमा भिटामिन डीको कमी रहेको तथ्य यसअघि नै बाहिर आइसकेको छ । काठमाडौं जस्तो प्रदुषित ठाउँमा बिहानको घामबाट भिटामिन डी पाउन एकदमै गाह्रो हुने बताइएको छ । अनुसन्धानहरूलाई हेर्ने हो भने प्रदूषण भएका ठाउँमा युभिबी किरण छिर्न गाह्रो हुन्छ । अनुसन्धानले काठमाडौंमा बिहान सबैभन्दा बढी प्रदूषण हुने देखाएको छ । 


भिटामिन डी पाउन बिहान १० देखि दिउँसो २ बजेको घाम ताप्नु सबैभन्दा उपयुक्त हुन्छ । अझ १२ बजेतिरको घाम सबैभन्दा उपयुक्त हुन्छ । तर, १२ बजेको घामले चाडै डढाउन सक्छ, त्यसबाट भने बच्नुपर्छ तर डढाउँछ भनेर सनस्क्रिन क्रिम वा लोसन लगाएर भने कहिलै घाम ताप्न हुदैंन । 

भिटामिन डी कमि हुनेहरुले औषधी सेवन गर्न सक्छन् तर खानामा चिल्लो पदार्थसँग उक्त औषधि खाँदा राम्रो हुन्छ, जस्तै: बाक्लो तर भएको दुध, दही अथवा घिउ आदि । अनि मात्रै शरीरले राम्ररी भिटामिन डी ग्रहण गर्न सक्छ । भिटामिन डी औषधी खाँदा अलिकति चिल्लो खानु एकदमै जरुरी हुन्छ । यो चिल्लो खानाको तुरुन्तै पछि पानीसँग समेत खान सकिन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!