जापानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दो

Posted on: 08 Aug, 2020

साउन २४, काठमाडौँ | गर्मी विदा सुरू हुँदै गर्दा जापानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या वृद्धि भइरहेको जापानी अधिकारीले बताएका छन् ।

जापानमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ५६५ पुगेको स्वास्थ्य मन्त्रालय तथा स्थानीय अधिकारीहरूले जानकारी गराएका छन् । 

यससँगै शनिबार साँझसम्म जापानमा सङ्क्रमित हुनेको सङ्ख्या ४७ हजार ४६४ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । 

कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढेसँगै ‘बोन फेस्टिवल’को मौसमको बेला आएको भएपनि गृहनगरहरूमा प्रान्तका राज्यपालहरूले मानिसलाई अनावश्यक भेटघाट गर्न निरुत्साहित गरेका छन् । 

जापानको तथ्याङ्कमा डायमण्ड प्रिन्सेस नामक पानीजहाजबाट जापान आएका ७१२ सङ्क्रमितलाई समावेश गरिएको छैन । उक्त जहाज टोकियोको नजिकको बन्दरगाह शहर योकोहामामा क्वारन्टिनमा बस्ने क्रममा सङ्क्रमित भेटिएका थिए ।

जापानमा कोरोनाभाइरस सङ्क्रमणबाट मर्नेहरूको सङ्ख्या अहिले एक हजार ५० पुगेको छ । मृतकमध्ये १३ जना डायमण्ड प्रिन्सेस जहाजका यात्रु रहेका थिए ।

मन्त्रालयका अनुसार जापानमा कूल १४० सङ्क्रमितमा जटिल समस्या देखिएको र उनीहरूलाई भेन्टिलेटर तथा सघन उपचार कक्षमा राखी उपचार भइरहेको बताइएको छ ।

शनिबार जापानका ४७ प्रिफेक्चरमध्ये टोकियोमा सबैभन्दा बढी थप ४२९ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!