रूस बन्यो कोभिड–१९ खोपलाई स्वीकृति दिने पहिलो देश, एकमात्रा राष्ट्रपति पुटिनकै छोरीलाई दिईयो

Posted on: 11 Aug, 2020

साउन २७, काठमाडौँ | संसारमा सबैभन्दा पहिले कोभिड–१९ खोपलाई  स्वीकृती दिँदै यसलाई राज्यमा दर्ता गर्ने पहिलो मुलुक रूस बनेको रूसी समाचार संस्था स्पुतनिकले जनाएको छ ।

“मेरो जानकारी अनुसार संसारमा कोभिड–१९ सङ्क्रमणविरुद्धको पहिलो खोप आज बिहान दर्ता गरिएको छ,” राष्ट्रपति भ्लादिमीर पूटिनले सरकारसँगको बैठकमा भन्नुभयो । 

“मलाई आशा छ कि निकट भविष्यमा हामी यस औषधीको सामूहिक उत्पादन सुरु गर्न सक्षम हुनेछौं, जुन एकदम महत्वपूर्ण छ,” उहाँले थप्नुभयो । यसैबीच, रूसका स्वास्थ्यसेवा मन्त्री मिखाइल मुराश्कोले रुसी माइक्रोबायोलोजी अनुसन्धान केन्द्र गमलेयाको कोभिड–१९ खोपलाई राज्यले दर्ता गरेको जानकारी दिनुभएको छ । गमलेयाले बनाएको खोप सुरक्षित र प्रभावकारी साबित भएको उहाँले बताउनुभयो । 

यद्यपि खोपबारे विश्व स्वास्थ्य सङ्गठनको आधिकारिक धारणा आइसकेको छैन ।

आफ्नी एउटी छोरीले खोपको परीक्षणका लागि एक मात्रा प्रयोग गर्ने सौभाग्य पाएको भन्दै रूसी राष्ट्रपतिले यसमा खुशी व्यक्त गर्नुभयो । 


“मेरी छोरीमध्ये एक छोरीलाई खोप दिइयो । वास्तवमा उनले एक प्रयोगमा भाग लिइन् । पहिलो खोप लगाएपछि उनको शरीर ३८ डिग्री सेल्सियस (१०० डिग्री फरेनहाइट) पुगेको थियो । तर भोलिपल्ट तापक्रम केही कम तर ३७ डिग्रीभन्दा माथि रहेको थियो ।” 

जोन्स हकिन्स विश्विद्यालयको पछिल्लो अपडेट अनुसार हालसम्म कोभिड–१९ बाट विश्वमा दुई करोड ९२ हजार ८५५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने हालसम्म सात लाख ३६ हजार २५४ सङ्क्रमितको मृत्यु भएको छ ।  

विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा कोरोना भाइरसलाई महामारीका रूपमा विश्वभर फैलिएको घोषणा गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!