कोभिड १९ विरुद्धको खोप परीक्षण प्रभावकारी भएको युएईको ठहर

Posted on: 15 Sep, 2020

भदौ ३०, काठमाडौं । युएईले कोभिड १९ को महामारी नियन्त्रणमा अग्रमोर्चामा खटिएका व्यक्तिहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउने अनुमति दिएको छ । युएईले सोमवार यस्तो अनुमति दिएको स्थानीय सञ्चार माध्यमले समाचार लेखेका छन् ।

युएईका स्वास्थ्य मन्त्री अव्दुल रहमान अल वाइसले तेश्रो चरणको परीक्षणमा कोभिड १९ विरुद्धको खोप प्रभावकारी देखिएको र सो खोपले शरिरमा एन्टीबडी तयार गरेको जनाएका छन् । पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रीले खोप प्रभावकारी देखिएको र यो सुरक्षित रहेको पाइएका जनाएको गल्फ न्यूजले लेखेको छ ।

युएई लगायतका १ सय २५ मुलुकका ३१ हजार व्यक्तिमा पछिल्लो ६ हप्ता गरिएको परीक्षणमा सो खोप सुरक्षित तथा प्रभावकारी रहेको स्थानीय स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यसमध्ये १ हजार दिर्घरोगिहरुमा पनि सफलतापूर्वक सो खोपको सफल परीक्षण गरिएको उल्लेख छ ।

प्रारम्भीक नतिजा उत्साहजनक रहेको र यसको थप अध्ययन जारी रहने समाचारमा जनाइएको छ । सो खोपको साईड ईफेक्ट सामान्य रहेको र अन्य खोपको जस्तो गम्भीर नरहेको जनाइएको छ । युएईमा चीनको सिनोभ्याकले उत्पादन गरेको खोपको परीक्षण भइरहेको थियो । समाचारमा कुन मुलुकले उत्पादन गरेको खोपलाई अग्रमोर्चामा खटिनेहरुलाई लगाउन अनुमति दिइएको हो भन्ने स्पष्ट खुलाइएको छैन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!