कोरोना अपडेटः 'कोभिड १९' बाट विश्वमा सङ्क्रमितको संख्या तीन करोड सात लाख नाघ्यो

Posted on: 19 Sep, 2020

असोज ३, काठमाडौँ  (रासस/एएफपी) | विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड सात लाख नाघेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या नौ लाख ५६ हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड २३ लाख ४१ हजार ५७८ व्यक्ति कोरोना मुक्त भएका छन् । 

कोरोनाभाइरसबाट विश्वमै सबैभन्दा धेरै सङ्क्रमण र मृत्यु अमेरिकामा भएको छ । हालसम्म अमेरिकामा ६९, २५,९४१ भन्दा बढी सङ्क्रमित भएका छन् भने २ लाख ३ हजार १७१ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले जनाएको छ । दोस्रो धेरै सङ्क्रमित भारतका छन् भने तेस्रो बढी सङ्क्रमित रहेको देश ब्राजिल हो ।

मृतकको संख्याको हिसाबले ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ । भारतमा कोरोनाभाइरस सङ्क्रमितको संख्या ५३ लाख नाघेको छ । ब्राजिलमा १,३५,८५७ जनाले कोरोनाभाइरसबाट ज्यान गुमाएका छन् भने भारतमा हालसम्म ८५,६२५ जनाको मृत्यु भएको छ । रुस १०,९१,१८६ सङ्क्रमितसहित चौथो स्थानमा छ भने पाँचौँ स्थानमा रहेको पेरुमा ७,५६,४१२ व्यक्ति सङ्क्रमित छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरसबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा युरोपमा बढ्दो क्रममा सङ्क्रमण देखिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!