इजरायलद्वारा कोरोना भाइरसविरुद्धको खोपको परीक्षण सुरु

Posted on: 01 Nov, 2020

कात्तिक १६, जेरूसेलम | इजरायलले आइतबार एउटा कोरोनाभाइरस खोपको क्लिनिकल परीक्षण सुरु गरेको अधिकारीहरूले बताएका छन् । साथै इजरायल सरकारले कोभिड–१९ सङ्क्रमण रोक्न लिएका नियन्त्रणका उपायलाई पनि खुकुलो पार्ने बताएको छ । 

“हामी सुरुङ्को अन्त्यमा प्रकाश देख्न सक्छौं,” प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले तेल अवीव नजिकै शेबा मेडिकल सेन्टरमा पत्रकारहरूसँग भन्नुभयो । 

महामारीको सुरुमै नेतान्याहूले इजरायल इन्स्टिच्युट फर बायोलोजिकल रिसर्च (आईआईबीआर) लाई कोभिड–१९ भाइरसबिरूद्ध खोप विकास गर्न निर्देशन गर्नुभएको थियो ।

खोपको सुरुवात शेबा मेडिकल सेन्टर र जेरूसेलमको हद्दास मेडिकल सेन्टरमा कार्यरत दुई स्वयम्सेवकहरूलाई दिएर आइतवार गरिएको हो । 


इजरायलले पहिलो चरण ८० जनामा खोपको परीक्षण गर्नेछ भने दोस्रो चरणमा ९८० जनामा परीक्षण गर्नेछ र अन्तिम चरणमा अप्रिल वा मेसम्ममा तेस्रो अर्थात् अन्तिम परीक्षण २५ हजार व्यक्तिमा गर्ने बताइएको छ । 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार इजरायली परीक्षण विश्वव्यापी रूपमा परीक्षण भइरहेका अग्रणी ४० खोपहरुमध्ये एक हो ।

इजरायलमा अहिलेसम्म कूल तीन लाख १४ हजार व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने दुई हजार ५४१ व्यक्तिको मृत्यु भएको छ ।

इजरायलले आइतबारदेखि प्राथमिक तहमा पढ्ने विद्यार्थीका लागि आफ्नो पढाइका लागि विद्यालय जान अनुमति प्रदान गरेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!