ब्राजिलमा कोरोना संक्रमणबाट एक लाख ७३ हजारको मृत्यु

Posted on: 01 Dec, 2020

मङसिर १६, ब्रासिलिया (रासस/एएनआई)। दक्षिणी अमेरिकी मुलुक ब्राजिलमा कोरोनाभाइरसको संक्रमणबाट एक लाख ७३ हजार १२० जनाको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २१ हजार १३८ जना संक्रमित भएका र २८७ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ६३ लाख ३५ हजारभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन् । 

कोरोनाभाइरसबाट विश्वमै ब्राजिल दोस्रो सर्वाधिक असर परेको मुलुक हो । मृत्यु संख्याका दृष्टिबाट संयुक्तराज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले सोमबारसम्ममा विश्वभर १४ लाख ७४ हजारको मृत्यु भइसकेको जनाएको छ । कोरोना संक्रमितको संख्या विश्वभर ६ करोड ३६ लाख पुगिसकेको छ भने ४ करोड ३९ लाख व्यक्ति संक्रमणमुक्त भएका छन् ।

प्राप्त समाचार अनुसार अझै पनि विश्वभर एक लाखको हाराहारीका व्यक्ति गम्भीर स्वास्थ्य समस्यामा छन् । संयुक्तराज्य अमेरिकामा गएको २४ घण्टामा मात्र एक हजार २३८ जनाको मृत्यु भएको थियो । यो सहित अमेरिकामा मृत्यु हुनेको कूल संख्या २ लाख ७४ हजार नाघेको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!