कोभिशिल्ड खोपलाई विश्व स्वास्थ्य सङ्गठनले दियो प्रयोग अनुमति

Posted on: 16 Feb, 2021

फागुन ४, काठमाडौँ । कोरोनाभाइरस बिरुद्धको खोप कोभिशिल्डलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले प्रयोग अनुमति दिएको छ । सोहि खोप नेपालमा पनि प्रयोग भइरहेको छ ।  भारतको सीरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिशील्ड र दक्षिण कोरियाको अस्ट्राजेनेका–एसकेबायोले उत्पादन गरेको उक्त खोपलाई डब्ल्यूएचओले प्रयोग अनुमति दिएको हो । 

नेपालमा अहिले भारतले अनुदान स्वरूप दिएको दश लाख डोज कोभिशिल्ड खोप अभियान चलेको छ । डब्ल्यूएचओले विज्ञप्तिमा निकालेर कोभिशिल्डसहित दुई वटा खोपको गुणस्तर, सुरक्षा र प्रभावकारिताको अध्ययनपछि सूचीकृत गरेको जनाएको छ ।

डब्लुएचओले सूचीकृत गरेका खोप कोभ्याक्स सुविधामार्फत् वितरण गर्न योग्य हुन्छन् । कोभ्याक्स अन्तर्गत नेपालले यही महिनामा साढे २२ लाख मात्रा कोभिशील्ड प्राप्त गर्ने सरकारले जनाएको छ । डब्ल्यूएचओका अनुसार कोभिशिल्डको प्रभावकारिता ६३ प्रतिशत पाइएको र १८ वर्षभन्दा माथि उमेरका सबैलाई लगाउन मिल्छ । 

यसअघि डब्ल्यूएचओले फाइजर–बायोएनटेक खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!