म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए

Posted on: 11 Apr, 2021

चैत २९, म्यान्मार । (रासस-एएनआई)।  म्यान्मारमा शुक्रबार सुरक्षाकर्मीहरुद्वारा कम्तीमा ८० प्रदर्शनकारी मारिएका छन् । देशको मध्यभागमा पर्ने बागोमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको समाचारमा जनाइएको छ । 

अनुगमनमा खटिएका अधिकारकर्मीहरुले सुरक्षाकर्मीको आक्रमणमा परी ८२ जनाको मृत्यु भएको जानकारी दिएका छन् । मृतकहरूको शव सेनाले लिएर गएकाले मृतकको सङ्ख्या अझ बढी हुन सक्ने पनि उनीहरुले बताएका छन् । 

प्रदर्शनकारीहरु विरुद्ध सुरक्षाकर्मीहरूले ठूला हतियार प्रयोग गरेको र केही हलचल हुनेबित्तिकै गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् । 

म्यान्मारमा गत माघ १९ मा देशको शासनसत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा ६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । सत्तामा बसिरहनका लागि सेनाले दिनानुदिन हिंसाको सहायता लिएको देखिएको छ ।

सेनाले सत्ता हातमा लिएयता म्यानमारभरि विरोध प्रदर्शनहरू हुँदै आएका छन् । हालै भएको निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउँदै सेनाले फेरि चुनाव गर्ने बाहनामा सत्ता कब्जा गरेको हो । चुनावका लागि भन्दै सेनाले देशमा एक वर्षका लागि सङ्कटकाल घोषणा पनि गरेको छ । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षक र निर्वाचन अधिकारीहरुले भने निर्वाचन निश्पक्ष नै भएको दावी गरेका छन् । सेनाले नतिजा अस्विकार गरिरहेको बेला नयाँ संसदको बैठक बस्न लागेकै दिन सेनाले सत्ता कब्जा गरिएको घोषणा गर्दै नेताहरुलाई थुनामा राखेको हो ।  

सेनाको कदमको विश्वभरीबाट विरोध भइरहेको छ भने शान्तिपूर्ण लोकतान्त्रिक राजनीतिक निकासका लागि दबाब बढिरहेको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!