युएईबाट अन्तरिक्षमा पठाइने दुई यात्रीको नाम घोषणा

Posted on: 11 Apr, 2021

चैत २९, दुबई (रासस–एपी) | संयुक्त अरब इमिरेट्सले दुई जना अन्तरिक्ष यात्रीको नाम शनिबार घोषणा गरेको छ । यस अन्तरिक्ष कार्यक्रममा एक महिलाको नाम पनि समावेश गरिएको छ । 

दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मक्तोमले ट्वीटर मार्फत दुई अन्तरिक्ष यात्रीको नाम घोषणा गर्नु भएको हो । घोषणा गरिएका नामहरुमा नोउरा अल–माट्रोसी महिला हुनुहुन्छ भने मोहम्मद अल–मुल्ला पुरुष हुनुहुन्छ ।

सन् १९९३ मा जन्मिनु भएकी अल–माट्रोसी अबुधाबीस्थित नेसनल पेट्रोलियम कन्स्ट्रक्सन कम्पनीमा इन्जिनियर पदमा कार्यरत हुनुहुन्छ । 

युएईका चार हजारभन्दा बढी आवेदकबाट दुई जना छनौट गरिएको अधिकारीहरुले बताएका छन् । उहाँहरु दुबैलाई अमेरिकाको टेक्सासस्थित नासाको जोन्सन स्पेस सेन्टरमा तालिम लिन पठाइने छ ।

यदि अल¬माट्रोसी अन्तरिक्ष अभियानमा सफल भएमा उहाँ अन्तरिक्ष पुग्ने पहिलो अरबी महिला हुनु हुनेछ । 


यसअघि इरानी–अमेरिकी महिला अनुशेह रैसायानले झण्डै २ करोड डलर तिरेर पर्यटकको रुपमा सन् २००६ मा अन्तरिक्ष यात्रा गर्नु भएको थियो ।

अन्तरिक्ष यात्रा गर्ने पहिलो अरब मुस्लिमको रेकर्ड भने साउदी अरबका राजकुमार सुल्तान बिन सल्मानले बनाउनु भएको छ । उहाँले सन् १९८५ मा डिस्कभरी यानबाट अन्तरिक्ष यात्रा गर्नु भएको थियो ।

सन् २०१९ मा युएईका मेजर हज्जा अल–मन्सूरीले पहिलो पटक अन्तरिक्ष यात्रा गर्नु भएको थियो । उहाँ अन्तरिक्ष केन्द्रमा आठ दिन रहनु भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!