दिल्लीमा लकडाउन घोषणा

Posted on: 19 Apr, 2021

वैशाख ६, काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि भारतको राजधानी नयाँ दिल्लीमा एक सताका लागि लकडाउन घोषणा गरिएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार राती १० बजेदेखि अर्को सोमबार बिहानसम्म लकडाउनको घोषणा गरेका हुन् ।

सरकारले पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै एक साताका लागि लकडाउन गर्ने घोषणा गरेको मुख्यमन्त्री केजरीवालले बताए । 'लकडाउन आज राती १० बजेदेखि सोमबार बिहान ५ बजेसम्म लागू हुनेछ' केजरीवालले भने, ’लकडाउन घोषणा गर्ने वित्तिकै कोरोना खत्तम हुँदैन भन्ने मेरो मान्यता हो, यसको तीव्रतामा कमी आउने हो । एक हप्तामा हामी बेड, औषधी र अक्सिजनको व्यवस्था गर्छौं ।’

उनले लकडाउनको समयमा गरिबहरुमाथि निकै अप्ठ्यारो अवस्था आउन सक्ने भएकोले दिल्ली छाडेर नजान आग्रह गरेका छन् । 

लकडाउन घोषणा गरिएपनि परीक्षा दिने विद्यार्थीहरूका लागि परिचयपत्रका आधारमा छुट दिने व्यवस्था गरिएको छ भने टिकट देखाएर रेलवे स्टेशन र एयरपोर्टमा आवतजावतका लागि छुट गरिएको छ । भारतमा पछिल्लो समय कोरोनाको संक्रमण तिब्र रुपमा फैलिएको छ ।

सोमबार एकै दिनमा दुई लाख ७३ हजार ८१० सङ्क्रमित भएका छन् । त्यसैगरी सोही अवधिमा भारतमा एक हजार ६१९ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको सोमबार जनाइएको छ  । पछिल्लो विवरणसँगै भारतमा कोरोनाभाइरसबाट कुल मृतकको सङ्ख्या एक लाख ७८ हजार ७६९ पुगेको देखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!