भारतको आसाममा शक्तिशाली भूकम्प

Posted on: 28 Apr, 2021

वैशाख १५, नयाँदिल्ली । (रासस/एएफपी) । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बारेमा कुनै समाचार प्राप्त नभएको अधिकारीहरुले बताएका छन् ।

अमेरिकी भूगर्भ सर्भेका अनुसार आसाम र भूटानको सीमावर्ती पहाडी भागलाई केन्द्रविन्दु बनाएर ६.० म्याग्नीच्यूडको भूकम्प गएको छ । तर भूकम्पको धक्का र परकम्प सयौं किलोमिटर टाढासम्म अनुभव गरिएको थियो ।

भूकम्पको केन्द्रबाट करिब ४५ किलोमिटर टाढाको करिब एक लाख जनसंख्या रहेको तेजपुरमा निकै नराम्रोसँग हल्लाएको थियो । मानिसहरु त्रासका कारण सडकमा भेला भएका थिए भने केही घरमा क्षति पुगेको छ ।

आसामको राजधानी गुवाहाटी भूकम्पको केन्द्रबाट झण्डै १५० किलोमिटर टाढा भए पनि यहाँका घरहरुमा क्षति पुगेको छ । स्थानीयवासीले कम्तीमा दुई वटा ठूलै परकम्प महशुस गरिएको बताएका छन् । अमेरिकी भूगर्भ सर्भेले भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट २९ किलोमिटर मुनि रहेको जनाएको छ । यहाँको हिमाली क्षेत्रमा भूकम्प बारम्बार आउने गरेको छ । सन् १९५० मा आएको भूकम्पमा परेर आसाम र तिब्बतमा गरी झण्डै चार हजार ८०० व्यक्तिको ज्यान गएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!