भारतको भयावह दृष्य: कोरोना संक्रमितहरुको शव गङ्गा नदीमा तैरिदै !

Posted on: 10 May, 2021

वैशाख २७, काठमाडौँ | कोरोनाको कारण मृत्यु भएका मानिसहरुको शवहरु नदीले बगाउँदै ल्याएको अवस्थामा देखिएपछि भारतमा कोरोना संक्रमित भई मृत्यु भएको आँकडाबारे प्रश्न खडा भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । 

भारतमा कोरोना संक्रमितहरुको मृत्यु भएपछि अन्तिम संस्कारको लागि ठाउँ नपाएको भन्ने समाचारहरु सार्वजनिक हुँदै गर्दा कोरोना महामारीको कारण मृत्यु भएकाहरुको शव नदीमा फालिएको भिडियो सहित सार्वजनिक भएको छ । 

यूपी बोर्डर संगै रहेको बिहारको बक्सर जिल्लामा सोमवार शवहरु गंगा नदीको किनारमा बग्दै गरेको देखिएको भिडियो सहित सार्वजनिक भएको छ ।

तश्वीर: भयाबह दृष्य भएकाले ब्लर गरिएको छ । 

बक्सर केन्द्रीय स्वास्थ्य राज्यमन्त्री अश्विनी कुमार चौबेको संसदीय क्षेत्र हो । जिल्ला प्रशासनको अनुसार ति शवहरु उत्तर प्रदेशको इलाहाबाद र वाराणसीदेखि बग्दै आएको बताइएको छ । 

बक्सरको चरित्रवन गाउँको मानिसहरुका अनुसार आसपासको गाउँमा पछिल्लो एक-डेढ महिनामा मृत्यु अचानक बढेको छ । मृत्यु हुनेहरु सबै रुघा-खोकीबाट पिडित थिए । स्थानीयका अनुसार त्यहाँको चौसा श्मशान घाटमा आउने धेरैजसो शवहरु गंगा नदीमा बगाउने गरिएको छ । जसमध्ये सयौं शवहरु नदि किनारमै सडेका छन् । 

तश्वीर: भयाबह दृष्य भएकाले ब्लर गरिएको छ । 

चरित्रवन र चौसा श्मशान घाटमा दिन-रात चिताहरु जलिरहेका छन् । कब्रस्तानहरुमा पनि भीड बढ्ने गरेको छ । एकै दिन दुई देखि पाँच शव जल्ने घाटमा अहिले ४० देखि ९० शव जल्ने गरेको छ । 

बक्सरमा आइतबार ७६ शव सरकारी आंकडामा दर्ता भए, जबकि १०० भन्दा बढी शव अन्तिम संस्कार गरिएका थिए । उक्त ठाउँमा मात्र दैनिक २० भन्दा बढी शवहरु घाटमा समेत दर्ता नगरी जलाउने वा नदीमा फाल्ने गरिएको बताइएको छ । चौसा घाटमा आइतबार २५ शवको अन्तिम संस्कार गर्दा ७ शव मात्र जलाइयो भने १६ शव नदीमा बगाइएको स्थानीय संचार माध्यमहरुले जनाएका छन् । 

बक्सरका एसडीओ केके उपाध्यायलाई हवाला दिँदै स्थानीय संचार मध्यमले लेखेको समाचार अनुसार गंगा नदीमा १० देखि १२ शव नदीमा तैरिएको देखिएको छ । ति शवहरु ५ देखि ७ दिन पुराना हुन् । आशंका गरिएको छ कि ति शवहरु वाराणसी र इलाहाबादको घाटदेखि बगेर बिहार आएका हुन् । ति शवहरुको अन्तिम संस्कारको लागि स्थानीय प्रशासनले तयारी गरेको जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!