चीनको ७३ तले भवन अचानक हल्लिन थाल्यो, मानिसहरुको भागाभाग

Posted on: 19 May, 2021

जेठ ५, काठमाडौं । दक्षिणी चीनको सेन्जेन सहरस्थित एक गगनचुम्बी भवन अचानक हल्लिन थालेसँगै उक्त भवनमा मानिसहरुको उद्धार गरिएको छ । स्थानीय प्रशासनका अनुसार मंगलबार साँझ यो घटना भएको थियो । ९८० फिट अग्लो एसईजी प्लाजा भवन हल्लिन थालेसँगै मानिसहरुको उद्धार गरिएको हो ।


त्यतिबेला चीनमा कुनै भूकम्प पनि नगएकाले भवन हल्लिनुको कारणबारे अहिले अनुसन्धान भइरहेको छ । २० वर्ष पुरानो यो भवनमा धेरै कम्पनीका कार्यालयहरु छन् भने यसमा इलेक्ट्रोनिक्सको एक ठूलो बजार पनि लाग्ने गरेको छ ।

यो भवन चीनको सेन्जेन भवनको बीचमास्थित छ । करिब एक करोड २५ लाख जनसंख्या रहेको यो सहरमा यो भवन एक ठूलो सपिङ सेन्टरको रुपमा चिनिँदै आएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका केही भिडिओमा मानिसहरु भवनभन्दा बाहिर निस्किएर दौडिरहेको देख्न सकिन्छ । मानिसहरुले भूकम्प नआउँदा नै भवन किन हल्लिएको हो भन्नेमा आशंका व्यक्त गरिरहेका छन् ।

चिनियाँ सरकारी समाचारपत्र द ग्लोबल टाइम्सका अनुसार मंगलबार दिउँसो साढे १२ बजेबाट उक्त भवन हल्लिन थालेको थियो । साढे २ बजेसम्म यो भवन खाली गराइएको थियो । समाचारमा बताइए अनुसार हल्लिएको कारण भवनमा कुनै चिरा देखिएको छैन भने भवनमा अन्य कुनै क्षति पनि पुगेको छैन । एईजी प्लाजा चीनको १०४ औं अग्लो भवन हो । एजेन्सीहरुको सहयोगमा तयार गरिएको यो सामाग्री अनलाइन खबरबाट साभार गरिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!