सिरियाली सहर अलेप्पोमा हरेक दिन तीन घण्टा सैन्य कारबाही स्थगित

Posted on: 11 Aug, 2016


साउन २७, अलेप्पो (सिरिया)  युद्धग्रस्त सिरियाली सहर अलेप्पोमा मानवीय सहायता सहज बनाउनका लागि हरेक दिन तीन घण्टा आफ्नो कारबाही रोक्ने रसियाली सेनाले बताएको छ । 

सिरियाको अलेप्पो सहरमा विद्रोहीको नियन्त्रणमा रहेको इलाकालाई लक्ष्य गर्दै रसियाली सेनाले हवाई आक्रमण गर्दै आएका छन् । विद्रोहीको नियन्त्रणमा रहेका उक्त सहरका चिकित्सकहरूले त्यहाँका २ लाख ५० हजार जनतालाई मानवीय सहायता पठाउनका लागि अमेरिकी राष्ट्रपति बाराका ओबामालाई आह्वान गरेका थिए । 

रसियाली रक्षा मन्त्रालयले बिहीबार नै अलेप्पो सहरमा मानवीय सहायता भित्रिन दिनको लागि प्रयेत्क दिन तीन घण्टाको सैन्य कारबाही रोक्ने जानकारी दिएको छ । यद्यपि संयुक्त राष्ट्रसङ्घले यस तीनघण्टे युद्ध विरामको तुरुन्तै प्रतिक्रिया जनाई मानवीय सहयोगको खाँचो रहेका लाखौं व्यक्तिलाई सहायता गर्न तीन घण्टाको समय नपुगेको बताएको छ । 

लाखौँ नागरिकको सहयोगका लागि लगातार ४८ घण्टा सो सैन्य कारबाही रोक्नका लागि संयुक्त राष्ट्रसङ्घले रसियालाई आह्वान गरेको छ । रासस÷एएफपी

यस बिषयमा तपाइको प्रतिक्रिया...!