दिल्लीमा कोभिड सङ्क्रमण दर ०.६८ प्रतिशत, लकडाउन खुकुलो पारिँदै

Posted on: 05 Jun, 2021

जेठ २२, नयाँ दिल्ली (रासस/पीटीआई) | जेठ २२, काठमाडौँ | दिल्लीमा पछिल्लो साता सङ्क्रमण दर ०.६८ प्रतिशत कायम भएको सरकारले तथ्याङ्कमा उल्लेख गरेको छ । दिल्ली शहरमा शुक्रबार ५२३ व्यक्ति सङ्क्रमित भएका र ५० सङ्क्रमितको मृत्यु भएको पुष्टि गरिएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दैनिक कोभिड–१९ सङ्क्रमण दरमा गिरावट आएपछि नयाँ दिल्ली र वरपरका क्षेत्रमा आउँदो हप्तादेखि लकडाउनलाई थप खुकुलो पार्ने घोषणा गर्ने उहाँ निकट अधिकारीहरूले शनिबार बताएका छन् ।

यसै सन्दर्भमा केजरीवालले शनिबार एक पत्रकार सम्मेलन गर्ने बताइएको छ । सम्मेलनमा आगामी दिनमा कोभिड–१९ सङ्क्रमणका कारण बन्द बजारलाई केही खुकुलो पार्ने र कोरोनाभाइरसको तेस्रो लहरलाई सामना गर्नका लागि आवश्यक तयारीबारे पनि सरकारी संयन्त्र तथा नागरिकलाई निर्देशन दिनुहुने बताइएको छ । 

अधिकारीका अनुसार सरकारले जून ७ देखि बजार र अन्य गतिविधिहरूलाई सञ्चालनका लागि अनुमति दिन सक्दछ किनकि कोभिड–१९ को अवस्थामा बिस्तारै सुधार हुँदै गएको देखिएको छ ।

सरकारले गत हप्ता उत्पादन तथा निर्माण क्षेत्रको प्रतिबन्धलाई अन्त्य गर्दै स्वास्थ्य सावधानीका साथ नियमित काममा फर्कन अनुमति दिएको थियो । दिल्लीमा दोस्रो लहरको सङ्क्रमण अत्यधिक बढेको भन्दै सरकारले यसै बर्षको अप्रिल १९ देखि लकडाउन आदेश जारी गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!