भारतमा एकै दिनमा थप ३७ हजार ८७५ जना कोरोना सङ्क्रमित

Posted on: 08 Sep, 2021

भदौ २३, नयाँ दिल्ली (रासस/एएनआई)। भारतमा गत २४ घण्टामा  थप ३७ हजार ८७५ जना नयाँ सङ्क्रमित थपिए पनि कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको बताइएको छ ।

यसअघि दैनिक ४० हजारभन्दा बढी सङ्क्रमित थपिने गरेकामा अहिले घटेर ३८ हजारको हाराहारी पुगेको अधिकारीले बुधबार जानकारी दिएका छन् । पछिल्लो समय केरला राज्यमा दैनिक सङ्क्रमितको सङ्ख्या एकाएक बढेपछि देशभरीको सङ्ख्यामा पनि वृद्धि देखिएको थियो । 

केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार बिहान सार्वजनिक गरेको विवरणअनुसार गत २४ घण्टामा थपिएका सङ्क्रमितमध्ये केरला राज्यमा मात्रै २५ हजार ७७२ जना सङ्क्रमित भएका छन् । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ३० लाख ९६ हजार ७१८ पुगेको मन्त्रालयले बुधबार जनाएको छ । 

भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म चार लाख ४१ हजार ४११ जनाको मृत्यु भएको छ । तीमध्ये ३६९ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो । त्यसैगरी एक दिनमा ३९ हजार ११४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कोरोना शुरु भएदेखि हालसम्म भारतमा तीन करोड २२ लाख ६४ हजार ५१ जना यस रोगबाट मुक्त भएका सरकारी अधिकारीले जानकारी दिएका छन् । कोरोना मुक्त भएका यो सङ्ख्या ९७.४८ प्रतिशत भएको बताइएको छ । 

पछिल्लो केही दिनदेखि सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्यामा पनि वृद्धि भएको छ । बुधबार प्राप्त समाचारअनुसार हाल भारतमा सक्रिय सङ्क्रमित सङ्ख्या तीन लाख ९१ हजारभन्दा बढी रहेका छन् ।  

यहाँ कोरोना शुरु भएदेखि हालसम्म ५३ करोड ४९ लाख व्यक्तिको कोरोना परीक्षण भएको सरकारी तथ्याङ्क रहेको छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप  अभियान शुरु भएको  थियो ।  सो समयदेखि हालसम्म ७० करोड ७५ लाख ४३ हजार १८ डोज खोप लगाएको अधिकारीले जानकारी छ ।    


यस बिषयमा तपाइको प्रतिक्रिया...!