ह्वाइट हाउसमा मोदी र बाइडेन बीचमा भेटवार्ता हुने

Posted on: 24 Sep, 2021

असोज ८, काठमाडौँ (एजेन्सी)। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग आज भेटवार्ता गर्ने भएका छन् । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका आउनु भएका मोदीले शुक्रबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनलाई भेट्नुहुने कार्यक्रम तय भएको छ ।   

बाइडेनले गत २० जनवरीमा अमेरिकी राष्ट्रपतिको पद सम्हालेपछि यी दुई नेताबीच पहिलो पटक प्रत्यक्ष भेटवार्ता हुन लागेको भारतीय विदेश सचिव हर्षवर्धन श्रीङ्गलाले जानकारी दिएका छन् । तीन दिने अमेरिका भ्रमणका क्रममा उनले अन्य देशका शीर्ष नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यसूची रहेको छ । 

सबै भेटवार्तामा उनले साझा चासो, दुई पक्षीय हित, आपसी सहकार्य तथा सम्बन्धलाई अझ बलियो बनाउने लगायतका विषयमा कुराकानी गर्ने भएका छन । प्रधानमन्त्री मोदी र राष्ट्रपति बाइडेनबीच कट्टरपन्थीलाई रोक्ने र आतङ्कवादसँग लड्ने उपायबारे छलफल हुने अपेक्षा गरिएको छ । 

 उनीहरुबीच रक्षा, व्यापार सम्बन्ध, सुरक्षा सहयोग र स्वच्छ ऊर्जा साझेदारीलाई दुई देशका बीचमा अझ बलियो बनाउने बारेमा छलफल हुने जनाइएको छ । प्रधानमन्त्री मोदी र बाइडेनबीच अफगानिस्तानको  पछिल्लो घटनाक्रम र क्षेत्रीय सुरक्षा स्थितिबारे छलफल हुने बताइएको छ । 

बुधबार अमेरिका आएका मोदीले क्वाड शिखर सम्मेलनमा भाग लिने र संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । उनले क्वाड शिखर सम्मेलनमा शुक्रबार नै भाग लिने भने न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको ७६ औं महासभालाई शनिबार सम्बोधन गर्नेछन् ।    

यस बिषयमा तपाइको प्रतिक्रिया...!