सुडानमा सेनाको कूको बिरोधमा भएका प्रदर्शनमा गोली चल्यो, १० जनाको मृत्यु

Posted on: 26 Oct, 2021

कात्तिक ९, खार्तुमा | एजेन्सी | सुडानमा सेनाको कूको बिरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । गोली लागेर दर्जनौं घाइते भएका छन् । सोमबार त्यहाँको सेनाले गठबन्धन सरकारलाई अपदस्थ गरेर सरकार विघटन गरिदिएको थियो । 

सेनाको कदमको बिरोधमा हजारौंले राजधानी खार्तुमलगायतका सहरमा प्रदर्शन गरेका थिए । उनीहरुले गैर सैनिक शासन माग गरेका थिए । सैन्य कूको  अन्तर्राष्ट्रिय समुदायले पनि बिरोध गरेको छ । अमेरिकाले सुडानलाई यसअघि उपलब्ध गराउने भनेको ७० करोड डलर रोक्का गरेको छ । 

जनरल अब्देल फतेह बुर्हानले राजनीतिक अस्थिरताका कारण सुडानमा संकट निम्तिएको बताएका छन् । सुडानमा लामो समय शासन गरेका ओमार अल–बशिरलाई दुई वर्षअघि हटाइएपछि त्यहाँ राजनीतिक अस्थिरता बढेको छ । 

सेनाले सत्ता हातमा लिएपछि बन्द भएका विमानस्थल, अन्तर्राष्ट्रिय उडान र टेलिफोन सेवा अझै सञ्चालनमा छैनन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!