बेलायतमा कोरोना संक्रमितको संख्या दैनिक ५० हजार बढी

Posted on: 04 Dec, 2021

मङ्सिर १८, काठमाडौँ | बेलायतमा केहिदिन यता कोरोना संक्रमितहरुको संख्या बढ्दै गईरहेको छ । संक्रमण बढ्दै गएपछि बेलायतमा थप कडा प्रतिबन्ध गर्न दवाव आएको छ । करिब ३० वटा मुलुकमा फैलिएको नयाँ भाइरस ओमिक्रोन बेलायतमा पनि फैलिएको छ । जसलाई नियन्त्रणमा लिन आगामी डिसेम्बर २० अगाडि सरकारले प्रतिवन्ध सम्बन्धि नियमलाई पुनर्विचार गर्ने तयारी गरिरहेको अधिकारीहरुले बताएका छन् । बेलायतमा हालसम्म ४२ जनामा नयाँ भाइरस ‘ओमिक्रोन’ संक्रमणको पुष्टि भइसकेको छ ।

बेलायतमा पछिल्लो दुई दिन यता दैनिक संक्रमितको संख्या ५० हजार माथी रहेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सार्वजनिक गरेको शुक्रबारको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ५० हजार ५८४ नयाँ संक्रमित फेला परेका छन् । अघिल्लो दिन संक्रमित संख्या करिब ५४ हजार रहेको थियो । यससंगै बेलायतमा कुल संक्रमितको संख्या एक करोड ३७ लाख ९  हजार ६४७ पुगेको छ ।

बेलायतमा कोरोना संक्रमणका कारण गत २४ घन्टामा १४३ जनाको मृत्यु भएको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो एकसातामा बेलायतमा ८३१ जना संक्रमितको मृत्यु भईसकेको छ । बेलायतमा हालसम्म ३३.८ प्रतिशतले कोरोनाविरुद्धको खोपको तेस्रो अर्थात बुस्टर डोज लगाइसकेको सरकारी तथ्यांकमा उल्लेख छ । पछिल्लो नयाँ भाइरस ओमिक्रोनको संक्रमण देखा परेपछि बेलायत सरकारले बुस्टर डोजलाई थप तीव्रता दिएको छ । बुस्टर डोज नयाँ भाइरसको लागि पनि प्रभावकारी हुने बीबीसीले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!