मानिसको पूर्वज लुसीको अग्लो रुखबाट खसेर मृत्यु

Posted on: 30 Aug, 2016


भदौ १४, एजेन्सी | मानव जातिको पूर्वज 'लुसी'को उचाइबाट खसेका कारण निधन भएको वैज्ञानिक तथ्य पत्ता लागेको छ । लुसी नाम दिइएको जीवाश्मको अध्ययनबाट प्राप्त भएको नयाँ प्रमाण अनुसार उनको उचाइबाट खसेका कारण मृत्यु भएको हुनसक्ने वैज्ञानिकले बताएका हुन् । 


उनी सम्भवत रुखबाट खसेको हुन सक्ने अनुसन्धानमा संलग्न अमेरिका तथा इथियोपियाका वैज्ञानिकले बताएका छन् । लुसीको हड्डीको सिटी स्क्यानमा अहिले मानिसहरु उचाइबाट खस्दा लाग्ने चोट जस्तै चोट देखिएको छ । ३२ लाख वर्ष पुरोनो मानव मानिएकी लुसीको ४० प्रतिशत कंकाल सन् १९७४ मा इथियोपियाको एफार क्षेत्रमा फेला परेको थियो । 


लुसी झण्डै १.१ मिटर अग्ली रहेको र उनको युवा अवस्थामै निधन भएको वैज्ञानिकको भनाई छ । लुसीको निधन उचाइबाट खसेका कारण भएको निष्कर्ष नेचर जर्नलमा प्रकाशित भएको छ । लुसीले जीवनको केही वर्ष रुखमा बिताएको र त्यही क्रममा उनी रुखबाट खसेको प्रमुख अनुसन्धानकर्ता टेक्सास विश्वविद्यालयका प्राध्यापक जोन काप्पेलम्यानले बताए ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!