हिलारी क्लिन्टनको क्यालिफोर्निया भ्रमण रद्द

Posted on: 13 Sep, 2016

भदौ २८, लसएन्जलस । अमेरिकामा आगामी नोभेम्बर महिनामा हुन गैरहेको राष्ट्रपतीय निर्वाचनकी उम्मेदवार हिलारी क्लिन्टनको क्यालिफोर्निया भ्रमण रद्द भएको छ । 

वर्तमानमा, उहाँ अमेरिकी डेमोक्र्याटिक पार्टीको तर्फबाट प्रायः विजयको नजिक पुग्न लाग्नु भएकी एक सशक्त महिला उम्मेदवारको रुपमा अमेरिकाभरी चर्र्चित हुनुहुन्छ । 

यसै वर्ष आयोजना हुने पार्टीको राष्ट्रिय समितिको सम्मेलनका लागि ठाउँ ठाउँबाट खर्च जुटाउने शृखलावद्ध कोष सङ्कलन कार्यक्रम र चुनावी प्रचारप्रसार अभियानको सिलसिलामा क्लिन्टनको क्यालिफोर्निया जाने योजना रहेको थियो । 

गतः आइतबारदेखि उहाँलाई लामो खोकी, घाँटी दुख्ने समस्या र आलर्जिले गर्दा निमोनियाले ग्रस्त बनाएको कारण अन्तिम क्षणमा भ्रमण रद्द भएको सो अभियानका क्षेत्रिय निर्देशक मिर्यम लिप्परले जानकारी दिएका हुन् । 

यद्यपी, यसबाट मङगलवार बिभर्लि हिल्समा आयोजना हुने कोष संकलनका दुईवटा कार्यक्रम नरोकिने र क्लिन्टनको अनुपस्थितिमै भए पनि कार्यक्रम सम्पन्न गरिने बताइएको छ । 

गतः २००१ सेप्टेम्बर ११ मा न्युयोर्कको ट्वीन टावरमा भएको आतङ्ककारी आक्रमणको स्मरण गर्न गतः आइतवार आयोजित पन्ध्रौं बार्षिक श्रद्धान्जली सभामा ६८ वर्षिया क्लिन्टनले ९० मिनेट लामो वक्तव्य दिनु भएको र सन्चो नभएको कारण कार्यक्रम सकिनु अगावै बीचैमा छाडी प्रस्थान गर्नु भएको थियो । 

क्यालिफोर्नियामा आयोजना हुने कोष सङ्कलन अभियानमा अमेरिकाकी लोकप्रिय गायिका लायोनेल रिसिले साङ्गितिक कला प्रस्तुत गर्ने र कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई लन्च खुवाउने बन्दोबस्त गरिएको थियो । 

सो कार्यक्रममा प्रवेश गर्न प्रतिव्यक्ति कम्तीमा पाँच हजार अमेरिकी डलर रकमको सहयोग गर्नु पर्ने टिकट दर तोकिएको थियो । 

कार्यक्रमका आयोजकले जनाए अनुसार दश हजार अमेरिकी डलर सहयोग गर्ने व्यक्तिलाई सह(आयोजक (को(होस्ट)को दर्जाले सम्मान गरिने र दर्शकदीर्घा को अग्रपङक्तिमा बस्ने सुबिधा दिइने परिपाटी मिलाइएको थियो । 

त्यस्तै, तेत्तीस हजार चारसय देखि पचास हजार अमेरिकी डलरसम्म सहयोग गर्ने व्यक्तिलाई दर्शकदीर्घा को अग्रपङक्तिमा बस्ने सुबिधा दिनुका साथै क्लिन्टनसँगै बसेर फोटो खिच्ने अवसरसमेत प्रदान गरिने व्यवस्था गरिएको थियो । 

पार्टीको राष्ट्रिय समितिमा प्रतिव्यक्ति वार्षिक अधिकतम तेत्तीस हजार चारसय अमेरिकी डलरसम्म सहयोग गर्न सकिने परम्परा रही आएको छ । रासस/सिन्ह्वा  

यस बिषयमा तपाइको प्रतिक्रिया...!