दोलखामा एमालेले अग्रता बढायो, प्रदेश सभामा को अगाडि?

Posted on: 04 Dec, 2022

मङ्सिर १८, दोलखा । एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको दोलखामा नेकपा एमालेले अग्रता बढाएको छ। आइतबार बिहानबाट अग्रता लिन सुरू गरेको एमालेले पछिल्लो मत गणनामा अग्रता बढाएको हो।

यहाँ एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले १८६६३ मत पाउँदा नेकपा माओवादी केन्द्रका गंगा कार्कीले १६७३७ मत पाएका छन्।

मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठका अनुसार हालसम्म ४१ हजार ९१८ मत गणना भइसकेको छ।


करिब ८४ हजार मतदान भएको दोलखामा भोलिसम्ममा अन्तिम परिणाम आइसक्ने श्रेष्ठले जानकारी दिए।

२१ जना उम्मेदवार रहेको दोलखामा हालसम्म १७९७ मत बदर भएको छ। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका जगदिश खरेलले २५७९ मत पाएका छन्।

यस्तै प्रदेश सभातर्फ एकमा नेपाली कांग्रेसका उम्मेदवार कुन्दन राज काफ्लेले अग्रता कायमै राखेका छन्। 

काफ्लेले हालसम्म १८७२१ मत पाएका छन् भने नेकपा एमालेले नरबहादुर श्रेष्ठले १२५४१ मत ल्याएका छन्। यहाँ ३४६५९ गणनामा राप्रपाका रामबहादुर तामाङले १०७६ मत पाएका छन्।

प्रदेश २ को प्रत्यक्षतर्फ एमालेका उम्मेदवार भरतबहादुर केसी विजयी भइसकेका छन्। उनले १९४१४ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका बर्मा लामाले १७५९५ मत पाए।

यस्तै यहाँ समानुपातितर्फ गणना भएको ३४०११ मतमा नेकपा एमालेले १२५८७, नेपाली कांग्रेसले १०९१७, माओवादी केन्द्रले ४४६६, नेकपा एकीकृत समाजवादीले १२२७, राष्ट्रिय स्वतन्त्र पार्टीले १४९० र राप्रपाले ८८७ मत पाएका छन्। 

मतगणना जारी छ। यहाँ मंसिर ४ मा भएको मतदानका क्रममा केही केन्द्रमा धाँधली भएपछि बिहीबार पुन: मतदान गरिएको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!