जोमसोमको पुल उद्घाटन

Posted on: 05 Nov, 2017

कात्तिक १९, मुस्ताङ्ग (रासस) | सदरमुकाम जोमसोमस्थित कालीगण्डकी नदीमाथि निर्माण भएको मोटर चल्ने पुलको आज उद्घाटन गरिएको छ । 

छयालीस मि लम्बाइ र ७.४ मि चौडाइ भएको पुलको नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले उद्घाटन गर्नुभएको हो । भारतीय राजदूतावासको रु चार करोड १२ लाखको सहयोगमा जिल्ला प्राविधिक कार्यालयमार्फत पुल निर्माण भएको इ सकलदेव शर्माले बताउनुभयो । 

विस २०६८ चैत १३ गतेदेखि निर्माण शुरु भएकामा गत वैशाखमा निर्माण सकिएको थियो । पुल निर्माण भएपछि स्थानीयवासीका साथै मुक्तिनाथ तीर्थयात्रा र उपल्लो मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई सहज भएको छ । 

पुल उद्घाटनपछि आयोजित कार्यक्रममा राजदूत पुरीले भारत मुस्ताङको विकासमा सघाउन इच्छुक रहेको बताउँदै मुक्तिनाथ मन्दिरलाई थप विकास गरी धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । यहाँ भारतीय दूतावासको सहयोगमा विद्यालय भवन, गुम्बा र धर्मशाला निर्माण भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!