बुढीगण्डकीको मुआब्जामा चरम लापरवाही भएको भन्दै बिरोध

Posted on: 24 Feb, 2019

फागुन १२, गोरखा । बुढीगण्डकी आयोजनाले मुआब्जा वितरणमा चरम लापरबाही र हेलचेक्र्याइँ भएको भन्दै बिरोध गरिएको छ । 

बुढीगण्डकी आयोजना राष्ट्रिय सरोकार समितिले आइतबार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गरी बुढीगण्डकी आयोजना मुआब्जा वितरणमा ढिलासुस्ती भएको, मुआब्जा एकैचोटी नदिएर किस्ताबन्दीमा दिएको, बजार क्षेत्रको मुआब्जा नतोकेको, मुआब्जासम्बन्धी गुनासो सुनुवाइ नगरेको भन्दै विरोध जनाएका हुन् ।

सरोकार समितिका संयोजक हरेराम ढकालले ३ वर्षसम्म जनताले मुआब्जा नपाउने तर आयोजनाले बजेट खर्च गर्न नसकेर ढुकुटीमै फिर्ता हुने अवस्था देखिएको भन्दै आक्रोश पोखे । ‘यस बर्षको बजेटले मुआब्जा वितरण मात्र होइन, घरगोठ तथा बोटविरुवाको रकम पनि दिन पुग्छ, तर काममा ढिलाइ भइरहेको छ,’ ढकालले भने ।  ‘दररेट निर्धारण नगरी घर, गोठ तथा बोटविरुवाको लगत संकलनको कुरा हुदैछ भन्ने सुनेका छौं, यो उल्टो बाटो हिँड्न छाडेर पहिले दररेट निर्धारण गर्न आग्रह गर्छौ,’ समितिका संयोजक ढकालले भने ।

सरोकार समितिले घर, गोठ, बोटविरुवाको दररेट पनि तत्कालै निर्धारण गरेर रकम वितरण गर्न माग गरेको छ । संयोजक ढकालले बजार क्षेत्रको मुआब्जा पनि तत्काल निर्धारण गर्न माग गर्दै एउटै नियमको पनि वर्षअनुसार फरक ब्याख्या गरी जनतालाई मुआब्जामा ठग्ने काम भएको आरोप लगाए ।

त्यस्तै सरोकार समितिका सदस्य कृष्णप्रसाद खनालले बुढीगण्डकी आयोजनामा डुवान पीडितलाई चरम बेवास्ता गरिएको भन्दै सरकारकै कारण डुवान क्षेत्रका ८० प्रतिशतभन्दा बढी वासिन्दा सुकुम्बासी हुने बताए ।

Photo Credit: Hari Simkhada 


यस बिषयमा तपाइको प्रतिक्रिया...!