नेपालगञ्ज उपमहानगरपालिकाको बजेट रु दुई अर्ब २८ करोड

Posted on: 25 Jun, 2019

असार १०, राँझा (रासस) | नेपालगञ्ज उपमहानगरपालिकाको आज भएको पाँचौं नगरसभाले आर्थिक वर्ष २०७६/७७ का लागि रु दुई अर्ब २८ करोड ८५ लाख ५४ हजारको बजेट सार्वजनिक गरेको छ ।

नगरउपप्रमुख उमा थापामगरले चालू खर्चतर्फ रु एक अर्ब २१ करोड ४७ लाख ७२ हजार र पूँजीगततर्फ रु एक अर्ब चार करोड ३७ लाख ८१ हजार विनियोजित बजेट प्रस्तुत गर्नुभएको हो । गत आव २०७४/७५ मा आन्तरिक स्रोततर्फ रु १४ करोड ११ लाख आय अनुमान गरिएकोमा हालसम्म रु १२ करोड ११ लाख ३७ हजार राजश्व असुल भई करीब ८५ दशमलव ८२ प्रतिशत लक्ष्य हासिल भएको बजेट वक्तव्यमा उल्लेख छ । 

हालसम्मको आम्दानीको स्थितिलाई मध्यनजर गर्दै प्रस्तुत बजेटमा आन्तरिक स्रोत अनुमानको ९० प्रतिशतभन्दा बढी लक्ष्य प्राप्ति हुने पनि अनुमान गरिएको छ । आगामी आगामी आवको आन्तरिक स्रोतको आय अनुमान रु १७ करोड ४१ लाख प्रस्ताव गरिएको छ । आगामी आवमा एशियाली विकास बैङ्क, नगरविकास कोष र बाह्य स्रोतबाट प्राप्त हुने ऋण तथा अनुदानहरु रु एक अर्ब आठ करोडसमेत गरी कूल आय रु दुई अर्ब २८ करोड ८५ लाख ५४ हजार हुने अनुमान गरिएको हो ।

नगरप्रमुख डा धवलशम्शेर राणाले पेश गर्नुभएको नीति तथा कार्यक्रम र उपप्रमुख उमा थापामगरले पेश गर्नु भएको बजेट परिमार्जन र संशोधनसहित स्वीकृत गरिएको छ । नगरप्रमुख डा राणाले आव २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपालगञ्जलाई विकासको उत्कृष्ट शहर बनाउने उद्घोष गर्नुभयो ।

यसैबीच बाँकेको कोहलपुर नगरपालिकाले आगामी वर्ष २०७६/७७ को लागि रु ८० करोड ६१ लाख १७ हजार ४२२ को बजेट प्रस्तुत भएको छ । नगरउपप्रमुख सञ्जुकुमारी चौधरीले प्रस्तुत गर्नुभएको बजेटमा चालू खर्चतर्फ रु १४ करोड ७७ लाख ६१ हजार र पूँजीगततर्फ रु ५३ करोड २१ लाख ४७ हजार ६०६ विनियोजन गरिएको छ । नगरप्रमुख लुटबहादुर रावतले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!