फास्ट ट्र्याकमा काम गर्ने मजदूरले पाएनन् ज्याला

Posted on: 11 Jun, 2021

जेठ २८, सुदूरपश्चिम (रासस)। निर्माणाधीन खुटिया–दीपायल फास्ट ट्र्याक (द्रुत मार्ग)को निर्माणमा संलग्न निर्माण कम्पनीले एक वर्षभन्दा बढी समयदेखि ज्याला नदिँदा मजदूर समस्यामा परेका छन् । निर्माणमा संलग्न आशिष अनिष्ट निर्माण कम्पनीले सो सडक निर्माणमा लागेका १२५ मजदूरको ज्याला दिन आलटाल गरिरहेको पीडित मजदूर प्रेम आचार्यले गुनासो गर्नुभयो । 

“ज्याला दिन आग्रह गर्दा हुन्छ भन्छन् तर एक वर्षभन्दा बढी समय भइसक्दा पनि ज्याला दिएका छैनन्, अब त फोनसमेत उठाउन छाडिसके”, आचार्यले सुनाउनुभयो, “काम गरेको ज्याला नपाएर १२५ मजदूर पीडित बनेका छौँ ।” निर्माण कम्पनीबाट काम गरेबापतको झण्डै रु ३५ लाख पाउन बाँकी रहेको मजदूरको भनाइ छ । 

फास्ट ट्र्याकको नयाँ कटिङको काम हुँदा जाली बनाउने र त्यसमा ढुङ्गा भर्ने जस्ता काम गराइएकामा कामको ज्याला नपाउँदा बिचल्लीमा परेको अर्का मजदूर मीनबहादुर रोक्कामगरले बताउनुभयो । निर्माण कम्पनीका रोशन आचार्यले भने मजदुरले काम गरेबापतको ज्याला नदिने मनसाय आफूहरुको नरहेको बताउनुभयो । उहाँले सडकमा काम गराउने जिम्मा लिएका नाइके ठेकेदारमध्ये एउटा टोलीलाई भुक्तानी दिन बाँकी रहेको रु नौ लाख ज्याला रकम आगामी केही दिनमा भुक्तानी गर्न लागिएको बताउनुभयो । 

कोरोना सङ्क्रमणको जोखिमका कारण केही महिनादेखि खुटिया—दीपायल फास्ट ट्र्याक निर्माणको काम प्रभावित भएको छ । सङ्घीय सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय, धनगढी–दीपायल–चैनपुर–उरै नाका सडक आयोजनामार्फत यो सडकको निर्माणको काम भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!