डोटीका आठ स्थानीय तहले ल्याए बजेट

Posted on: 25 Jun, 2021

विमलबहादुर विष्ट । असार ११, डोटी (रासस)। नौवटा स्थानीयतह रहेको डोटीका आठ स्थानीय तहले आज आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रमसहित बजेट ल्याएका छन् ।  पूर्वीचौकी गाउँपालिका बाहेका सबै पालिकाले आगामी आर्थिकको बजेट प्रस्तुत गरेका छन् । जसअन्तर्गत बोगटान फुड्सिल गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु ४१ करोड ४० लाख १७ हजारको बजेट पारित गरेको छ । उपाध्यक्ष भगवती देवि बमले नवौं गाउँसभामा बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमा चालूतर्फ रु २८ करोड ७ लाख ४९ हजार र पुँजीगततर्फ रु १३ करोड ३२ लाख ६८ हजार छ । पालिकाले क्रमशः स्वास्थ्य, शिक्षा तथा कृषिलाई प्रमुख प्राथमिकता दिएको छ ।

यसैगरी दिपायल सिलगढी नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि रु ५५ करोड ८० लाख ६५ हजार बजेट पारित गरेको छ । जोरायल गाउँपालिकाले रु ४६ करोड २२ लाख ५४ हजार बराबरको बजेट पेस गरेको छ । चालुगततर्फ रु ३६ कारोड ३८ लाख ४४ हजार र पूँजीगततर्फ रु ९ कारेड ६९ लाख ४९ हजार ५ सय विनियोजन गरेको छ । कृषि स्वास्थ्य, खानेपानीलगायत क्षेत्रलाई प्राथमिकता दिएको गाउँपालीका अध्यक्ष दुर्गा ओझाले जानकारी दिनुभयो । उता केआइसिंह गाउँपालीकाले रु ३६ करोड ५९ लाख ८६ हजार बराबारको बजेट पेस गरेको छ । पूँजीगततर्फ रु ९ करोड ७ लाख र चालुतर्फ १० करोड १२ लाख ४३ हजार विनीयोजन गरेको छ ।

आर्दश गाउँपालीकाले रु ४७ करोड १७ लाख ४७ हजार बराबरको बजेट पेस गरेको गाउँपालीकाका अध्यक्ष टेकबहादुर रोकायाले जानकारी दिनुभयो । गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि विशेषगरी भौतिक पूर्वाधार विकास निर्माण, कृषि, स्वास्थ्य, शिक्षा, सीपमूलक आयआर्जन तथा रोजगारीलाई बजेटको पहिलो प्राथमिकतामा राखेको छ । यसैगरी बडीकेदार गाउँपालिकाले पनि रु ३४ करोड २६ लाख ९३ हजार बजेट विनियोजन गरेको छ । बडिकेदार गाउँपालिकाको नवौं गाउँसभाबाट गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले नितितथा कायक्रम प्रस्तुत गर्नुभयो । जसबाट आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन, कृषि, पर्यटन र संस्थागत विकासमा टेवा पुग्ने अपेक्षा गाउँपालिकाले लिएको छ । विभिन्न विषयगत क्षेत्र जस्तै स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र, लक्षित वर्गलाई सम्बोधन गरिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेस गर्नुपर्ने कानूनी व्यवस्था छ । सोही बमोजीम स्वास्थ्य, शिक्षा, कृषि, पर्यटनलाई प्राथमिकता दिएर डोटीका आठ स्थानीय तहले बजेट पेस गरेका हुन् । तर, पूर्वीचौकी गाउँपालिकाले भने बिबादका कारण यस वर्ष समयमा बजेट पेस गर्न नसकेको अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो । स्थानीय तहले यस अगाडिका अधुरा योजना कार्यान्वयन गर्ने बताएका छन् । स्थानीय तहका जनप्रतिनिधिका लागि यस वर्ष बजेट निर्माण गर्ने अन्तिम वर्ष पनि भएकाले विकासका क्षेत्रमा बढी बजेट विनियोजन भएको हो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!