स्वरोजगार र आशा लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन, कति छ नयाँ भाउ ?

Posted on: 29 Oct, 2021

कात्तिक १२, काठमाडौं | नेप्सेमा स्वरोजगार र आशा लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले शुक्रबार स्वरोजगार र आशा लघुवित्तको २५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । 

नेप्सेले स्वरोजगार लघुवित्तको बोनस सेयर समायोजनपछिको भाउ १२ सय ७२ रुपैयाँ निर्धारण गरेको छ । स्वरोजगारले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न २७ कात्तिकमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा १३ औँ वार्षिक साधारणसभा बोलाएको छ ।

सो सभा बिहान ११ बजे सुरु हुनेछ । त्यसैगरी, अन्य लघुवित्तहरूसँग मर्जर तथा एक्विजिशनसम्बन्धी कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सञ्चालकहरूको निर्वाचन गर्ने प्रस्ताव पारित हुनेछ ।

त्यसैगरी, आशा लघुवित्तको बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले १५ सय १९ रुपैयाँ ९२ पैसा निर्धारण गरेको छ । नेप्सेले बैंकको २५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । 

आशा लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न २७ कात्तिकमा फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेस्टुराँ ककनीमा पाँचौँ वार्षिक साधारणसभा बोलाएको छ । सो सभा बिहान १० बजे सुरु हुनेछ।

कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित एक दशमलव ३१ प्रतिशत नगद गरी कुल २६ दशमलव ३१ प्रतिशत लाभांश वितरण गर्दै छ । साधारणसभा तथा लाभांश प्रयोजनार्थ दुबै कम्पनीले आज १२ कात्तिकमा बुक क्लोज गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!