एभरेष्ट बैंकले अपेक्षाभन्दा कम बोनस घोषणा गरेपछि असन्तुष्टि

Posted on: 30 Oct, 2021

कात्तिक १३, काठमाडौं | पछिल्लो समय सेयर बजारमा बोनसको सिजन नै चलिरहेको छ । बैंक, माइक्रो फाइनान्सहरूले बोनस घोषणा गरिरहेका छन् । अपेक्षितभन्दा बढी बोनस घोषणा हुँदा लगानीकर्ताको चाप उक्त कम्पनीको सेयरमा बढ्ने गरेको छ । यद्यपि बोनस कम आएमा उक्त कम्पनीको सेयर मूल्य घट्ने गरेको छ ।

एभरेष्ट बैंक लिमिटेडको शुक्रबार बसेको संचालक समितिको ३३४औं बैठकले आर्थिक बर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस र ४.३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसमेत) गरी कुल रु.१०.३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

उक्त बैठकले वितरणयोग्य मुनाफा रकमबाट सेयरधनीलाई हाल कायम रहेको चुक्ता पूँजी रु.८ अर्ब ८९ करोड ३७ लाख १७ हजार १७८ को ६ प्रतिशत अर्थात ५३ करोड ३६ लाख २३ हजार ३०.६८ बराबरको बोनस सेयर तथा ४.३२ प्रतिशत अर्थात रु.३८ करोड ४२ लाख ८ हजार ५ सय ८२.०९ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गर्ने निर्णय गरेको हो । 

बैंकले बोनस घोषणा गरेसँगै लगानीकर्तामा उत्साह भने कम भएको छ । अपेक्षा गरिएको भन्दा कम बोनस घोषणा भएकोले साताको पहिलो दिन आइतबार बजार खुल्दा यसको सेयर मूल्यमा गिरावट आउन सक्ने सम्भावना बढेको छ ।

सामाजिक सञ्जालमा लगानीकर्ताले बैंकले अपेक्षाअनुसार बोनस नदिएको गुनासो गरिरहेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!