यस्तो देखियो तीन वर्षको आर्थिक परिदृश्य

Posted on: 17 Jan, 2022

माघ ३, काठमाडौँ | सरकारको समग्र आम्दानी तथा खर्चको पछिल्लो तीन वर्षको अर्धवार्षिक तथ्याङ्क हेर्दा आम्दानीतर्फ क्रमशः धनात्मक अवस्था देखिएको छ । सोही अवधिको समग्र खर्चमा भने उतार चढावपूर्ण अवस्था रहेको पाइएको छ । अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म राजस्व सङ्कलन कूल लक्ष्यको ३८ दशमलव ९५ प्रतिशत रहेकोमा आव २०७७/७८ मा ४१ दशमलव ७३ प्रतिशत रहेको थियो । चालु आव २०७८/७९ को पुस मसान्तसम्म ४५ दशमलव ९१ प्रतिशत राजस्व सङ्कलन भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा चार दशमलव १८ प्रतिशतले बढी हो ।      

अर्धवार्षिक खर्चतर्फ भने पछिल्लो तीन आर्थिक वर्षको अवस्था हाराहारीमा रहेको छ । आव २०७६/७७ को पुस मसान्तसम्म पूँजीगत खर्च १४ दशमलव ८९ प्रतिशत रहेकोमा आव २०७७/७८ को सोही अवधिमा १४ दशमलव ४० भएको थियो । चालु आव २०७८/७९ को पुस मसान्तसम्म पूँजीगत खर्च १३ दशमलव ४४ प्रतिशत भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ९६ प्रतिशत कम हो । प्रतिस्थापन बजेट ल्याउनुपर्ने आवश्यकता र मध्य असोजपछि मात्र बजेट कार्यान्वयनमा आएको कारणले पूँजीगत खर्च अपेक्षाकृत हुन नसकेको हो ।    

समीक्षा अवधिको चालु र वित्तीय खर्चमा भने केही उतार चढाव देखिएको छ । आव २०७६/७७ को पुस मसान्तसम्म चालु खर्च ३२ दशमलव ३५ प्रतिशत भएको थियो भने वित्तीय खर्च २२ दशमलव ४४ रहेको थियो । आव २०७७/७८ को सोही अवधिमा चालु खर्च ३६ दशमलव ०८ रहेकोमा वित्तीय खर्च १३ दशमलव ०६ भएको थियो । यस्तै चालु आव २०७८/७९ को पुस मसान्तसम्म चालु खर्च ३८ दशमलव १३ प्रतिशत रहेकोमा वित्तीय खर्च २६ दशमलव १२ प्रतिशत रहेको छ । वित्तीय खर्च अघिल्लो वर्षको तुलनामा करिब दोब्बर बढी भएको देखिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!