मलद्वारमा एक करोडको सुन लुकाएर ल्याउने पक्राउ

Posted on: 03 Feb, 2022

माघ २०, काठमाडौँ | मलद्वारभित्र झण्डै रु एक करोडको  सुन लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । प्रहरीले उनीहरुबाट एक किलो १५५ ग्राम सुन तथा चार आइफोन बरामद गरेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१० का ३२ वर्षीय सुनिलकुमार साह, मकवानपुर मनहरिका २८ वर्षीय नवराज परियार र सिन्धुपाल्चोकको भोटेकोसी गाउँपलिका–३ का दावाछिरिङ शेर्पा छन् । उनीहरुमध्ये शेर्पाले सुन मलद्धारभित्र लुकाएर ल्याएका थिए । तौलिँदा उक्त सुन एक किलो ५५ ग्राम रहेको फेला परेको छ । उनी एयर अरेवियामार्फत सारजहाँ विमानस्थलबाट नेपाल आएका थिए । 

तीनै जनालाई बुधबार अपराह्न पक्राउ गरेको भए पनि आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया पूरा गरी आज सार्वजनिक गरिएको हो । साह र परियार दुबईबाट हिमालयन एयरमार्फत नेपाल आएका थिए । साहबाट चार थान आइफोन तथा ५० ग्रामको सुनको औँठी र सिक्री बरामद गरिएको छ । यस्तै परियारबाट आइफोन एक थान र सुनको बेरुवा औँठी दुई थान बरामद गरिएको छ । तीनै जनालाई बरामद सामग्रीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयलाई बुझाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!