प्रधानसेनापति शर्माद्वारा खलङ्गा–तिंकर सडकको निरीक्षण

Posted on: 10 Feb, 2022

माघ २७, दार्चुला । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले निर्माण गरिरहेको तिंकर सडकको निरीक्षण गर्नुभएको छ । सुदूरपश्चिमको भ्रमणमा आउनुभएका प्रधानसेनापति शर्माले आज सो सडकको हेलिकप्टरमार्फत निरीक्षण गर्नुभएको हो ।  

उहाँले तिंकर सडकअन्तर्गत यही माघ १७ गते सरकारले व्यास गाउँपालिकाको तुसरपानीदेखि कोठेधारसम्म चार किलोमिटर तथा कोठेधारदेखि तिंकरसम्मको ८७ किलोमिटर सडकखण्डको हवाई निरीक्षण गर्नुभएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । 

सरकारले गत वर्ष सदरकुकाम खलङ्गा–तिंकर सडकखण्डको आधा काम नेपाली सेनामार्फत गराउने निर्णय गरेको थियो । सोहीअनुसार सेनाको विकास दलले व्यास–२ कोठेधारदेखि दुम्लीङसम्मका विभिन्न खण्डमा सडक निर्माणको काम थालनी गरेको छ । विसं २०६५÷६६ देखि निर्माण सुरु गरिएको यो सडकखण्ड कञ्चनपुरको ब्रह्देवदेखि दार्चुलाको तिंकरसम्म पुग्ने सामरिक महत्वको सडक हो । यसअघि नेपाली सेनाले साढे चार मिटर बढी घोरेटो बाटोसमेत यस क्षेत्रमा काटेको छ ।

धनगढीबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत यहाँ आउनुभएका शर्मासँगै रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा पनि हुनुहुन्छ । दार्चुलामा रहेको गुरुगोरख गुल्मले महाकाली नगरपालिका–५ खेटबोकेमा थालेको तीन महिने नेपाली सेनाको तालिमको समापन लगत्तै प्रधानसेनापति शर्मा तिंकर सडकको निरीक्षणमा जानुभएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!