एकै दिन २५ सयले वृद्धि भयो सुनको मूल्य प्रतितोला १ लाख नजिक

Posted on: 24 Feb, 2022

फागुन १२, काठमाडौँ । सुनको मूल्य नेपाली बजारमा प्रतितोला १ लाख नजिक पुगेको छ । बिहीबार नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ तोकेको छ ।

एकै दिन सुनको मूल्य तोलामा २५ सयले वृद्धि भएको हो । यसअघि बुधबार तोलाको ९६ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको मूल्य प्रतितोला १३५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । बुधबार प्रतितोला १३२० मा कारोबार भएको थियो ।

रुस र युक्रेनको द्वन्द्व थप चर्किएपछि सुनको मूल्य बढेको महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले बताए । 'रुसले युक्रेनमा आक्रमण गर्न थालेपछि शक्तिशाली राष्ट्रहरु रुस र अमेरिकाबीच झन् विवाद बढेको छ, यसले गर्दा सुनको मागसँगै मूल्य बढ्यो', उनले भने ।

विश्वका शक्तिशाली राष्ट्रहरुबीच विवाद बढ्दा विभिन्न देशका सरकार तथा लगानीकर्ताले सुनको माग बढाउँछन्, यसले गर्दा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्ने गरेको शाक्यको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको मूल्य प्रतिऔंस १९४० डलरसम्म पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!