फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल-डिजेलको मूल्य अहिलेसम्मकै उच्च !

Posted on: 03 Mar, 2022

फागुन १९, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्राेलियम पदार्थको मूल्य बढाएको हो  ।

निगमकाअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा पनि प्रतिलिटर ५ रुपैयाँ मूल्य बढेको छ ।

नयाँ मूल्य अनुसार उपत्यकामा अब पेट्रोल प्रतिलिटर १५० रुपैयाँ तथा डिजेल र मट्टितेल १३३ रुपैयाँ पर्नेछ । पेट्रोल तथा डिजेलको यो मूल्य अहिलेसम्मकै उच्च हो । यस्तै, निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको छ । अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनकाे मूल्य प्रतिकिलाेलिटर १ सय डलर बढेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने ‍‍‍हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।

रुसले युक्रेनमाथि युद्ध सुरु गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढिरहेको छ । त्यसको असर नेपालमा पनि परेको हो । अन्तर्राष्ट्रय बजारमा कच्चा तेलको मूल्य बिहीबार प्रतिब्यारेल १ सय १७ डलरसम्म पुगेको थियो । त्यस्तै, डलरको बिनियम दर पनि बढेको छ । डलरको मूल्यले पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा असर पार्छ । बिहीबार एक डलर बराबर १२१.४३ रुपैयाँ बिनिमयदर ताेकिएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!