सञ्चित बचत शून्यमा झरेको नेपाल आयल निगमलाई चार अर्ब २५ करोड उपलब्ध गराइने

Posted on: 08 Mar, 2022

फागुन २३, काठमाडौँ । सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमलाई  सरकारले  पेट्रोलियम पदार्थको खरिदका लागिरकम उपलब्ध गराउने भएको छ । 

मूल्य स्थिरीकरण कोषको आज बसेको बैठकले निगमले इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्नुपर्ने पहिलो किस्ता बापतका नपुग रु चार अर्ब २५ करोड उपलब्ध गराउने निर्णय गरेको हो । गत बिहीबार पेट्रोलियम पदार्थको मूल्य समायोजनपश्चात पनि १५ दिनमा करिब दुई अर्ब ५० करोड घाटा रहेको निगमले जनाएको छ । 

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिएपछि निगमको खरिद मूल्य बढेर घाटा बढ्दै गएको छ । निगमले आइओसीलाई मार्च महिनामा बुझाउनुपर्ने पहिलो किस्ता बापतको रकम अपुग भएपछि मूल्य स्थिरीकरण कोषबाट नपुग रकम उपलब्ध गराउन माग गरेको थियो । 

निगमले प्रत्येक महिनाको आठ र २३ तारिखका दिन आइओसीलाई किस्ता बुझाउँदै आएको छ । यसअघि स्थिरीकरण कोषबाट गत जनवरी महिनामा निगमलाई रु एक  अर्ब ८० करोड उपलब्ध गराइएको थियो । निगमलाई रकम उपलब्ध गराउने सरकारको निर्णयबाट पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाइराख्न मद्दत पुग्ने प्रवक्ता विनितमणि उपाध्यायले बताए । 

पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढिरहेकाले आइओसीलाई भुक्तानी गर्नुपर्ने रकम अझ धेरै नै नपुग हुने स्थिति देखिएको निगमले जनाएको छ । विश्व बजारमा अहिले कच्चा तेलको मूल्य प्रतिव्यारेल १२० डलर नाघेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!