आगामी बजेट निर्माण प्रक्रिया : कति काम सकियो, अब के-के बाँकी ?

Posted on: 10 Apr, 2022

चैत्र २७, काठमाडौँ | अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट तर्जुमा प्रक्रियालाई तालिका बनाएर योजनाबद्ध रूपले अघि बढाएको छ । मन्त्रालयले जेठ १५ मा संघीय संसदमा प्रस्तुत गर्नुपर्ने बजेट निर्माण प्रक्रियालाई सम्बन्धित शाखाले कुन मितिसम्म सम्पन्न गर्नुपर्ने भनी तालिका नै बनाएर अघि बढाएको हो ।

मन्त्रालयले तयार पारेको तालिका अनुसार अहिलेसम्म बजेट तर्जुमाको एक चौथाइ काम सकिएको छ । चैत १ गतेदेखि मन्त्रालय र मातहतका निकाय बजेट तर्जुमा प्रक्रियामा सामेल भएका थिए । जसअनुसार अहिलेसम्म बजेटमा समावेश गर्नुपर्ने नीति, कार्यक्रम र अपेक्षित उपलब्धिसहितका सूचक तयार भइसकेको छ ।

यस्तै, बजेटमा समावेश गर्नुपर्ने विषयमा सार्वजनिक सूचना जारी गरी सुझाव संकलन गर्ने काम प्रक्रियामा छ । यस कामका लागि मन्त्रालयले चैत मसान्तसम्मको समयसीमा छुट्याएको छ । मन्त्रालयले यो कामको जिम्मेवारी बजेट तथा कार्यक्रम महाशाखालाई दिएको छ ।

राष्ट्रिय योजना आयोगमा बजेटको नीति र कार्यक्रममाथि छलफल सम्पन्न भइसकेको छ भने विभागहरूबाट बजेट तर्जुमा सम्बन्धमा  'पोलिसी पेपर ' तयार गरेर पेश गर्ने काम समेत सम्पन्न भइसकेको छ । यी दुवै कामका लागि चैत १५ गतेसम्मको समयसीमा तोकिएको थियो ।

यतिबेला सम्बन्धित मन्त्रालयहरूले बजेट प्रस्ताव गर्ने अन्तिम मिति समेत सकिइसकेको छ । सबै मन्त्रालयहरूले चैत १५ सम्म बजेटको अन्तिम प्रस्ताव अर्थ मन्त्रालयमा बुझाइसक्नुपर्ने तालिका छ । बजेटका उद्धेश्य, प्राथमिकता र मूख्य कार्यक्रमबारे संसदहरूसँग प्रदेशगत छलफलको काम समेत सकिइसकेको मन्त्रालय बताउँछ ।

हाल प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयसँग छलफल भइरहेको छ । मन्त्रालयहरूसँग बजेट, कार्यक्रम र खर्च शीर्षकगत छलफल समेत चलिरहेको छ । यसका साथै वैदेशिक स्रोत अन्तर्गत प्राप्त हुने रकम एकीन गर्ने काम समेत धमाधम चलिरहेको छ । यी ३ वटै कामको समयसीमा चैत मसान्तसम्म तोकिएको छ ।


अब के–के काम बाँकी ?

जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्ने बजेटको पहिलो चरणको काम सकिन लागेको मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म, बजेट तर्जुमा प्रक्रियाको आवश्यक छलफल, विदेशी दातृ निकायबाट प्राप्त हुने रकम एकीन, सम्बन्धित मन्त्रालयहरूले पठाउने बजेटलाई अन्तिम रूप लगायत काम सकिनै लागेको हो । अब चैत मसान्तसम्मको काम सकिएपछि अर्थ मन्त्रालयले वैशाख २ गतेदेखि बजेट निर्माणको अर्को चरण सुरू गर्नेछ ।

मन्त्रालयले वैशाख २ गतेदेखि १५ गतेसम्ममा बजेटउपर सुझाव संकलनको काम सक्नेछ । मन्त्रालयले सो अवधिमा राजनीतिक दलका प्रतिनिधि, पूर्व अर्थमन्त्री, पूर्व गर्भनर र पूर्व अर्थसचिवसँग बजेटबारे छलफल गर्नेछ । सम्बन्धित क्षेत्रका विज्ञहरूसँगको छलफल सकिएलगत्तै मन्त्रालयले विनियोजन विधेयकका सिद्धान्तहरू र प्राथमिकताको मस्यौदा तयार गर्नेछ । बजेट वक्तव्य मस्यौदा लेखन समितिले गर्ने यो काम पनि वैशाख १५ गतेभित्रै सक्नुपर्नेछ ।

यसपछि अर्थमन्त्रीले चैत २० गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संघीय संसदका दुवै सदमा पेश गर्ने छन् । यसैगरी, सोही दिन प्राविधिक सहायता तथा अन्य गैर सरकारी संस्थानमार्फत परिचालन हुने सहायता एकीन हुनेछ । यसपछि वैशाख ३० गते आर्थिक सर्वेक्षणलाई अन्तिमरूप दिएर छपाइमा पठाउने र सोही दिन मन्त्रालयगत प्रगति विवरण छपाइका लागि प्रेसमा पठाइनेछ ।

अर्थ मन्त्रालयका अनुसार वैशाख २० गते नै बजेट वक्तव्य मस्यौदा तयार भइसकेको हुनेछ । यसपछि अर्थ मन्त्रालयले जेठ ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बजेट ब्रिफिङ गर्नेछ भने जेठ ८ गते व्यय अनुमान र खर्च शीर्षकगत अनुमानको अंक रुजुसहित अन्तिम मस्यौदा तयार हुनेछ । मस्यौदा तयार भएपछि छपाइका लागि जेठ १० गते प्रेसमा पठाइनेछ ।

जेठ १२ गते मन्त्रालयले आर्थिक विधेयक र विनियोजन विधेयकलाई अन्तिम रूप दिइनेछ । यी सबै काम सकेपछि जेठ १३ गते स्रोत पुस्तिका छपाइका लागि पठाइनछ भने सोही दिन राष्ट्रिय योजना आयोगमा बजेटसम्बन्धी ब्रिफिङ हुनेछ । त्यसपछि बजेटको अघिल्लो दिन जेठ १४ गते मन्त्रीपरिषद्मा बजेट पेश हुनेछ । यस्तै, बजेट वक्तव्य छपाइका लागि पठाइनेछ भने संघीय संसदको दुवै सदनमा आर्थिक सर्वेक्षण, संस्थानको प्रगति विवरण र मन्त्रालयहरूको प्रगति विवरण पेश हुनेछ । यी सबै काम सकिएपछि जेठ १५ गते सरकारले संघीय संसदका दुवै सदनमा बजेट प्रस्तुत गर्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!