आज रातिदेखि दैनिक १७७.७ मेगावाट बिजुली भारत निर्यात, प्रति युनिट कतिमा बेचिदैछ ?

Posted on: 05 Jun, 2022

जेठ २२, काठमाडौं । आजदेखि दैनिक १७७.७ मेगावाट बिजुली भारत निर्यात सुरु भएको छ । कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत शनिबार राति (आज रातिदेखि) भारत निर्यात सुरु हुने भएको छ । 

यस अघि नेपालले भारतलाई दैनिक करिब ३९ मेगावाट बिजुली निर्यात गर्दै आएकोमा आज रातिदेखि थप कालीगण्डकी ए को १४० मेगावाट भारत निर्यात सुरु भएको हो । अब कालीगण्डकी ए को १४० मेगावाट, त्रिशूलीको २३.२ मेगावाट र देवीघाटको १४.५ मेगावाट विद्युत भारत निर्यात भएको छ ।

नदीनालामा पानीको वहाव बढेर विद्युतगृहहरु पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रुपमा खपत गरी बढी भएको विजुली भारत निर्यात गर्न थालिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार रातिदेखि निर्यात हुने विजुलीको औसत बिक्री मूल्य प्रतियुनिट ११.२ रुपैयाँ (७ भारतीय रुपयाँ) रहेको बताए । भारतलाई नेपालले बिजुली बेच्दा अधिकतम दर प्रतियुनिट १९ रुपैयाँ (१२ भारु), न्यूनतम २.३८ रुपैयाँ (१.४९ भारु) र औसत दर ११.२ रुपैयाँ (७ भारु) रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!