अन्तर्राष्ट्रिय बजारमा घट्न थाल्यो कच्चा तेल र सुनको मूल्य

Posted on: 12 Jul, 2022

असार २८, काठमाडौँ | विश्व अर्थतन्त्र मन्दीमा जाने अनुमानसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र सुनको मूल्य घट्न थालेको छ । रुस–युक्रेन युद्धका कारणले कीर्तिमानी मूल्यमा पुगेको सुन र कच्चा पेट्रोलियमको मूल्य घट्न थालेको हो । यसअघि, रुसले युक्रेनमाथि आक्रमण गर्दा सुन र कच्चा पेट्रोलियम पदार्थको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो ।

 मार्च र जुन महिनामा कच्चा तेलको मूल्य प्रतिब्यारेल १३० अमेरिकी डलरभन्दा माथि पुगेको थियो । जुन, यतिबेला घटेर प्रतिब्यारेल १०१ अमेरिकी डलरमा आइपुगेको छ । यो पछिल्लो समयमा कच्चा तेलमा आएको प्रतिब्यारेल २९ अमेरिकी डलरसम्मको गिरावट हो ।

यसैगरी, यतिबेला अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य समेत घट्न थालेको छ । पछिल्लो एक महिनाको अवधिमै सुनको मूल्य १.७७ प्रतिशत खुम्चिएको छ । यससँगै, हाल सुनको मूल्य प्रतिग्राम ५५.४२ अमेरिकी डलरमा आइपुगेको छ । सुनको मूल्य जुन ८ मा प्रतिग्राम ६० अमेरिकी डलरमा थियो । जुन, एक महिना यता नै करिब ५ अमेरिकी डलर प्रतिग्रामले घटेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि देखिएको छ । नेपालमा कारोबार मूल्य तोक्दै आएको सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो समय सुनको मूल्य निरन्तर घट्दो स्थितीमा छ । महासंघका अनुसार असार महिनामा मात्रै सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले घटेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!