विकासका नाममा हुने डोजर आतंक बन्द हुनुपर्छ: मन्त्री यादव

Posted on: 10 Sep, 2022

भदौ २५, काठमाडौँ | वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका नाममा हुने डोजर आतंक बन्द हुनुपर्ने बताएका छन् । पछिल्लो समय विकासका नाममा जाथाभावी डोजर प्रयोग गरी जङ्गल विनाश गर्नुका साथै ठाउँ-ठाउँमा पहिरा जाने र बाढी पहिराको जोखिम बढ्दै गएकाले विकासमा नाममा जङ्गल तथा डाँडाकाँडा भत्काउने तथा मास्ने कार्य तत्काल बन्द हुनुपर्ने उनले बताए ।

उनले भने, ‘सडक चाहियो भन्दैमा डोजर लाएर जङ्गल मासेर डाँडा भत्काउन काम अब रोक्नुपर्छ, जथाभावी डोजर प्रयोग गर्दा कति विनाश हुँदैछ, त्यसको ख्याल गरेरमात्रै डोजर प्रयोग गर्न आवश्यक छ ।’ यसैगरी उनले शिक्षा, सडक, विद्युत् आजको प्रमुख आवश्यकता भए पनि जथाभावी डोजर प्रयोग गरेर सडक बनाउँदा विकाससँग सँगै विनाश निम्त्याएको उल्लेख गरे ।

म विकासको विरोधी होइन तर विकास गर्ने नाममा विनास नमित्यिोस’, उनले भने, ‘हामीले गरेका विकासले दीर्घकालीन रुपमा सेवा देओस तर हाम्रा विकासले विनासको जोखिम नल्याओस ।’ जलवायु परिवर्तनका कारण विश्वभरमा विभिन्न घटनाक्रम बढ्दै गइरहेकाले नेपालले पनि अब जलवायु परिवर्तनका क्षेत्रमा सचेत भएर काम गर्नु पर्ने उनको भनाइ थियो ।

विशेष गरी नेपालका पहाडी क्षेत्रमा पछिल्लो समय डाँडाकाँडा भत्काउनका लागि तीनै तहका सरकारतर्फबाट डोजर प्रयोग गर्दै आइएकाले त्यसलाई रोक्न कडा कानुनको व्यवस्था आवश्यक रहेको र उक्त कार्य रोक्नु पर्ने मन्त्री यादवको जोड थियो । सडकलगायतका विकास गर्दा विज्ञसँगको राय सुझाव तथा सल्लाह अनुसार काम गर्नुपर्ने मन्त्री यादवको भनाइ थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!