नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी झा र शेखलाई मधेस प्रदेशद्वारा दुई लाख पुरस्कार

Posted on: 17 Mar, 2023

चैत ३, धनुषा | मधेस प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय गुल्सन झा र आरिफ शेखलाई जनही रु दुई लाख पुरस्कार दिने भएको छ । 

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश गरेकामा खुसी व्यक्त गर्दै मधेस प्रदेशले टोलीका महत्वपूर्ण खेलाडीद्वय झा र शेखलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । दुवैजना मधेसबाट प्रतिनिधित्व गर्ने खेलाडी रहेको उल्लेख गर्दै प्रदेश सरकारले जनही रु दुई लाख प्रोत्साहनस्वरुप दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरिले जानकारी दिनुभयो । 

सानदार जित हासिल गरेकामा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली टोलीलाई बधाई ज्ञापनसमेत गर्नुभएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपालले युएईलाई रोमाञ्चक खेलमा डकवर्थ लुइस नियमका आधारमा नौ रनले पराजित गरेको हो । जितसँगै नेपालले एकदिवसीय विश्वकप क्रिकेटको क्वालिफायर खेल्ने तय गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!