प्रदेश नं १ स्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु

Posted on: 14 Sep, 2017

भदौ २९, तेह्रथुम। तेह्रथुमको म्याङ्लुङमा प्रदेश नं १ स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता आजदेखि शुरु भएको छ । 

जिल्लामा बढ्दो ब्याडमिन्टन मोह र यसको विकासका लागि तेह्रथुम ब्याडमिन्टन संघले आयोजना गरेको सो प्रतियोगिता म्याङ्लुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले उद्घाटन गर्नुभयो । 

‘पर्यटन प्रवद्र्धनका लागि खेलकुद’ भन्ने नारासहित आयोजित प्रतियोगितामा तेह्रथुमसहित पूर्वका धनकुटा, संखुवासभा, भोजपुर, सुनसरी र मोरङका ३२ टोली सहभागी छन् । पैतालितस वर्षमाथिकाले मात्रै खेल्न पाउने गरी आयोजित भेट्रानतर्फ १६ टोली सहभागी छन् । प्रतियोगितामा विजयी हुनेलाई नगद रु ४० हजारसहित कप, पदक र प्रमाणपत्र प्रदान गरिने आयोजक संघका अध्यक्ष नारायणलाल श्रेष्ठले बताउनुभयो । 

यस्तै दोस्रो र तेस्रो हुनेले क्रमशः नगद रु २५ र १५ हजारसहित कप, पदक र प्रमाण पत्र प्राप्त गर्ने छन् भने भेट्रानतर्फ प्रथम हुने टोलीले रु २० हजार, दोस्रो हुने टोलीले रु १५ हजार र तेस्रो हुने टोलीले रु पाँच हजार पुरस्कार पाउनेछन् । 

गतवर्ष यहाँका चर युवाले व्यक्तिगत लगानीमा कभर्ड हल निर्माण गरेपछि सो हलमा जिल्लामै पहिलोपटक ठूलो ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको हो । यहाँका महेश आचार्य, सन्तोष बराल, तेजु खड्का र राजबहादुर थापाले निजी लगानीमा तेह्रथुम कभर्ड हल बनाएका थिए । 

प्रतियोगितामा सहभागी खेलाडीलाई आवासको समेत व्यवस्था आयोजक आफैँले गरेको छ । प्रतियोगिता सञ्चालनका लागि करिब रु पाँच लाख खर्च हुने बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!