तेश्रो हेटौँडा गोल्डकपको पहिलो खेलमा मनाङ मस्र्याङ्दी र एपिएफ भिड्ने

Posted on: 15 Feb, 2018

फागुन ३, मकवानपुर ।  तेश्रो हेटौँडा गोल्डकपको पहिलो खेलमा साविकको उपविजेता मनाङ मस्र्याङ्दी र एपिएफ भिडने भएका छन् । 

आयोजक सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आज हेटौँडामा गरेको पत्रकार सम्मेलनमा फागुन ५ गते बाट हेटौँडाको वन विज्ञान सस्थानको खेल मैदानमा हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो । प्रतियोगिताको दाश्रो दिन आयोजक विजय युथ क्लब र नेपाल पुलिस क्लबबिच भिडन्त हुने छ । 

तेश्रो दिन फागुन ७ गते साविक विजेता त्रिभुवन आर्मी र सुदुरपश्चिम ११ तथा समुह चरणको अन्तिम खेलमा फागुन ८ गते थ्रि स्टार क्लब र संकटा क्लबबिच प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक समेत रहेका प्रतिष्ठानका उपाध्यक्ष विशाल घोषले बताए । 

प्रतियोगिताको लागि ६० लाख रुपैँया लागत लाग्ने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । फागुन १२ गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुने टिमले नगद ५ लाख सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेता क्लबले नगद ३ लाख सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार प्राप्त गर्नेछन भने उत्कृष्ट विधाका पाँच जनाले नगद १५ हजारको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको हरेक खेलको म्यान अफ द म्याचले नगद पाँच हजार प्राप्त गर्नेछन् । 

प्रतियोगितामा सहभागि दर्शकको लागि ३ हजार जना अटने प्याराफिटको समेत ब्यवस्था गरिएको आयोजकको भनाई रहेको छ । पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष भेष खड्गी सहितका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!