नेपालद्वारा नेदरल्याण्ड पराजित: डेब्युमै कुशल र आसिफको कीर्तिमानी साझेदारी

Posted on: 17 Apr, 2021

वैशाख ४, काठमाडौँ | त्रिकोणात्मक सिरिज क्रिकेट अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालको खेलमा नेपालले जित हाँसिल गरेको छ । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले शतकीय साझेदारी गरेपछि नेपालले नेदरल्याण्डलाई १५ ओभरमै ९ विकेटले पराजित गरेको हो ।

जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । काठमाडौँस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कुशल र आसिफले शानदार ब्याटिङ गर्दै ११ औं ओभरमा शतकीय साझेदारी गरे । दुवैले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिताको डेब्यू खेलमा ओपनिङ गरेका हुन् ।

कुशल र आसिफले टी–२० अन्तर्राष्ट्रियमा नेपालका लागि पहिलो विकेटका लागि सर्वाधिक रनको साझेदारी समेत गरेका छन् । यी दुईले पहिलो विकेटका लागि ११६ रनको साझेदारी गर्दै यसअघि १३औं सागमा पारस खड्का र ज्ञानेन्द्र मल्लले भुटानविरुद्ध बनाएको १०८ रनको साझेदारीको कीर्तिमान तोडेका हुन् ।

नेपालका लागि सर्वाधिक रनको साझेदारी भने पारस खड्का र आरिफ शेखले २०१९ मा सिंगापुर विरुद्ध गरेका थिए । 

खेलमा कुशलले ४६ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६२ रनको योगदान दिए । आसिफ शेख ३८ बलमा ४ चौका र ४ छक्का ५४ रनमा अविजित रहे । पहिलो विकेटका लागि आसिफ र कुशलले १२.४ ओभरमा १ सय १६ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि नेपालले सानदार जित निकालेको हो । ज्ञानेन्द्र मल्ल १३ रनमा अविजित रहे । आसिफले ३६ र कुशलले ३० बलमा अर्धशतक पूरा गरेका थिए । 


यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो । नेदरल्यान्ड्का ब्याट्सम्यान बास डी लिडेले ४९ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ४१ रनको योगदान दिए । त्यस्तै एन्टोनियस स्टल ९ बलमा २ चौका र १ छक्का सहित २९ रनमा अविजित रहे । त्यस्तै कप्तान पिटर सीलार १७ बलमा २ चौका र १ छक्का सहित २३ रनमा अविजित रहे । 

खेलमा सन्दीप लामिछानेले दुई विकेट लिए भने सोमपाल कामी र साहव आलामले एक/एक विकेट लिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!