पोर्चुगल जर्मनीसँग ४-२ गोल अन्तरले पराजित

Posted on: 19 Jun, 2021

असार ५, काठमाडौँ (एजेन्सी) | युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह डीको दोस्रो खेलमा जर्मनीले पोर्चुगलमाथि फराकिलो जित दर्ता गरेको छ । खेलमा सुरुवाती अग्रता लिएको पोर्चुगलले डिफेन्समा दुई पटक आत्मघाती गोल गर्दा जर्मनको स्कोर ४ गोल बन्न पुग्यो । 

सुरुवातमा जर्मनीको लागि खेलको पाँचौ मिनेटमा रोबिन गोसेन्सको गोल गरेपनि उक्त गोलले मान्यता पाएको थिएन । खेलमा १४ औं मिनेटमा पोर्चुगलले कप्तान क्रिस्टियानो रोनाल्डोले सहज रुपमा गोल गर्ने अवसर पाएका थिए । 

खेलको ३५ औं मिनेटमा जर्मनी खेल बराबर गर्न सफल भयो । रोबिन गोसेन्सले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको क्रस डियासलाई लाग्दै गोल भएको थियो । हाभर्ट्जलाई रोक्ने प्रयासमा डियासको क्लिअरेन्सको क्रममा आफ्नै पोष्टमा गोल भएको थियो । त्यसको ३ मिनेटपछि जर्मनीले अर्को आत्मघाती गोल पाएर खेलमा अग्रता लियो । जोशुवा किम्मिखको क्रसमा राफेल गुरेरोको क्लिअरेन्स गर्ने प्रयास आफ्नै पोस्टमा गोल गरेका थिए ।


दोस्रो हाफको सुरुवातमा फेरी जर्मनी अर्को गोल गर्दै थप बलियो बन्यो । ५१ औं मिनेटमा हाभर्ट्जले प्रतियोगितामा पहिलो गोल गर्दै ३-१ को स्कोर बनाएका थिए । 

त्यसपछि खेलको ६० औं मिनेटमा रोबिन गोसेन्सले जर्मनीलाई ४-१ को अग्रता दिलाए । त्यसको ६ मिनेट पछि ६६ औं मिनेटमा पोर्चुगलले गोल गर्दै खेलमा आफ्नो २ गोलको स्कोर बनायो । गुरेरोको फ्रिकिकलाई रोनाल्डोले दिएको पासमा जोटाले गोल गरेका थिए । त्यसपछि दुवै पक्षको कुनै गोल हुन सकेन । 

जर्मनीले आजको खेल जितसँगै समूहको दोस्रो स्थानमा उक्लिएको छ । जर्मनीसँग समान ३ अंक भएपनि हेड टु हेडमा पोर्चुगल तेस्रो स्थानमा रहेको छ । २ खेलमा ४ अंक जोडेको फ्रान्स शीर्षस्थान तथा हंगेरी १ अंक जोड्दै चौथो स्थानमा रहेको छ । यस समूहको चारै टोलीको अर्को चरणमा पुग्ने सम्भावना रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!