नेपाल भारतसँग १-० गोल अन्तरले पराजित, माल्दिभ्स शिर्ष स्थानमा

Posted on: 10 Oct, 2021

असोज २४, काठमाडौँ | साफ च्याम्पियनसिप २०२१ को तेस्रो खेल अन्तर्गत नेपाल र भारतबीच भएको खेलमा नेपाल भारतसँग १-० गोलले पराजित भएको छ । खेलको ८२ औं मिनेटमा भारतका सुनिल क्षेत्रीले गोल गरेपछि नेपाल भारतसँग पराजित हुन पुगेको हो ।

नेपालले खेलको सुरुवातदेखिनै भारतलाई स्कोर खडा गर्न रोकेर राख्ने रणनीति अनुसार खेलेको थियो । यस बीचमा नेपालले काउन्टरमा केहि अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन । भारतले पनि केहि अवसर सिर्जना गर्यो तर भारतको आक्रमणलाई कप्तान किरणले रोक्न सफल भएका थिए । तर खेलको अन्तिम समयमा डिफेन्स र गोलरक्षकबीच तालमेल नमिल्दा सुनिलले विजयी गोल गरे । जुन गोलले भारतको लागि फाइनल पुग्ने सम्भावनालाई बलियो बनाईदिएको छ ।

नेपालबिरुद्ध गोल गर्ने अवसरहरुलाई निस्तेज पार्दै नेपाल खेलको बराबरीतर्फ उन्मुख हुँदै थियो । सुरुवातदेखि एकै लयमा खेलेको नेपालले भारतको गोलसँगै गोलको लागि धेरै प्रयास गर्यो तर भारतको रक्षा पंक्तिले नेपालको आक्रामक प्रयासलाइ रोक्न सफल भए । 

भारतको लागि ८२ औं मिनेटमा गोलको अग्रता हाँसिल गर्ने क्रममा फारुख चौधरीको फ्लिक हेडरमा सुनिलले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो । त्यसपछि ८६ औं मिनेटको खेलमा अन्जनको प्रहारले पोस्टको दिशा लिन सकेन । लगत्तै भारतका गोलरक्षक गुरप्रितले बचाउ गर्दै भारतको खतरालाई टारेका थिए । त्यसपछि ९० औं मिनेटमा सुमन अर्यालको पासमा नेपालले गोल गर्ने उत्कृष्ट अवसर रहेपनि आयुष घलान बलसम्म पुग्न सकेनन् ।

भारतबिरुद्धको खेलमा प्रशिक्षक अलमुताइरीले मनिष डाँगीलाई एकल फरवार्डको रुपमा उतारेका थिए । उनलाई सुमन लामा र सुजल श्रेष्ठले विंगमा साथ दिए । त्यस्तै मिडफिल्डमा तेज तामाङ र पुजन उपरकोटीको जोडी थियो । डिफेन्समा अनन्त तामाङ, रोहित चन्द, दीनेश राजवंशी, गौतम श्रेष्ठ र सुमन अर्याल रहंदा गोलरक्षकमा कप्तान किरण चेम्जोङ खेलेका थिए । 

नेपालले पहिलो हाफमा भारतलाई गोल गर्न दिएन । दोश्रो हाफमा मनिषको स्थानमा अन्जन विष्टले भारतबिरुद्ध गोल गर्ने जिम्मेवारी पाए । त्यसपछि ६० औं मिनेटमा सुजलको स्थानमा सुरज र ८१ औं मिनेटमा सुमनको स्थानमा आयुष खेलमा उतारिएका थिए ।

आजको खेल हारसँगै नेपाल २ खेलमा ६ अंकसहित दोश्रो स्थानमा झरेको छ । नेपालले हारेपछि पहिलो स्थानमा ३ खेलमा ६ अंक पाएर माल्दिभ्स छ । त्यस्तै तेस्रो स्थानमा ३ खेलमा ५ अंक जोडेर भारत रहेको छ, साथै चौथो स्थानमा ३ खेलमा ४ अंक जोडेर बंगलादेश छ । यता श्रीलंका भने ४ खेलमा १ अंक मात्र जोड्न सफल भई प्रतियोगिताबाट बाहिरिसकेको छ । अन्तिम चरणको खेलमा अब बुधबार दिउँसो ४:४५ बजे नेपालले बंगलादेशको सामना गर्दैछ । सोहि दिन रातको ९:४५ बजे माल्दिभ्स र भारत खेल्दैछन् ।

खेलको हालसम्मको नतिजा हेर्दा नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध जित वा बराबरीको नतिजा हासिल गरे फाइनल प्रवेश गर्ने सम्भावना छ । नेपालले अन्तिम खेलमा बंगलादेशलाई पराजित गर्न सके भारत र माल्दिभ्सको विजेतासँग फाइनल खेल्नेछ । उता माल्दिभ्सले भारतसँग बराबरी खेलेमा माल्दिभ्स पनि फाइनलमा पुग्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!