विश्वकप क्रिकेट: भारतको लगातार हार, न्युजिल्यान्डको सानदार जित

Posted on: 31 Oct, 2021

कात्तिक १४, काठमाडौँ | एजेन्सी – न्युजिल्यान्डले आइसिसी टि२० विश्वकप २०२१ मा भारतमाथि सानदार जित हाँशिल गरेको छ । न्युजिल्यान्डले भारतलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनल सम्भावना बनाएको छ । यो खेल हारेसंगै उपाधिको दाबेदार भारत भने समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ ।

खेलमा जितको लागि १ सय ११ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १४.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । खेलमा न्युजिल्यान्डका ओपनर डर्याल मिचेलले सर्वाधिक ४९ रनको योगदान दिए भने कप्तान केन विलियम्सनले ३३ रनमा अविजित रहे ।

न्याजिल्यांडका अर्का ओपनर मार्टिन गुप्टिलले २० रन जोडे । भारतका लागि जस्प्रित बुमराहले २ विकेट लिए । अरुले विकेट लिन सकेनन् ।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १० रन मात्र बनाएको थियो । भारतको लागि अलराउन्डर रविन्द्र जडेजाले सर्वाधिक २६ रनको योगदान दिए । हार्दिक पान्ड्याले २३ रन बनाए । ओपनर ईशान किशनले ४ रन मात्र जोडेर क्याच आउट भए । तीव्र गतिका बलर टिम साउथीले लोकेश राहुललाई १८ रनमा क्याच गराए । 


यता रोहित शर्मा १४ रन मात्र बनाएर आउट हुन पुगे । अर्का ब्याट्सम्यान विराट कोहलीले ९ रन मात्र बनाउन सके । उनले १७ बल खर्च गरेका थिए ।

भारतलाई समेट्ने क्रममा मिल्नेले विकेटकिपर ऋषभ पन्तलाई १२ रनमा बोल्ड आउट गरेका थिए । न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । स्पिनर ईश सोधीले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । एडम मिल्ने र टिम साउथीले १–१ विकेट लिए ।

यस अघि भारतले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित हुनु परेको थियो । भारतले अव तेश्रो खेल अफगानिस्तानसँग, चौथो खेल नामिबियासँग र पाँचौं खेल स्कटल्यान्डसँग खेल्नेछ । अब भारतलाई सेमिफाइनल यात्रा तय गर्न न्युजिल्यान्डको नतिजा कुर्नु पर्ने भएको छ । न्युजिल्यान्ड पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । 

न्युजिल्यान्डले अव अफगानिस्तान, नामिबिया र स्कटल्यान्डसँग खेल्न बाँकी छ । तीन खेलमा विजयी हुन सके न्युजिल्यान्ड सेमिफाइनलमा पुग्छ । पाकिस्तानले लगातार तीन खेलमा जित हात पारेसंगै सेमिफाइनलको स्थान पक्का बनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!