विश्वकप क्रिकेट: भारतको सेमिफाइनल सम्भावना कायमै

Posted on: 06 Nov, 2021

कात्तिक २०, काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत सुपर १२ खेलमा भारतले शुक्रबार राति स्कटल्याण्डलाई ८ विकेटले पराजित गरेको छ ।

बलरको उत्कृष्ट प्रदर्शन अनी केएल राहुलको आक्रमक अर्धशतक मद्दतमा भारतले सहज जित हात पारेको हो ।

ग्रुप २ मा स्कटल्याण्ड शानदार जितपछि नेट रनरेटमा सुधार गरेको भारतले सेमिफाइनल पुग्ने सम्भावना जिवितै राखेको छ ।

सुरुआती दुई खेलमा पकिस्तान र न्युजिल्याण्डसँग पराजित भएको भारतले त्यसयता अफगानिस्तान र स्कटल्याण्डलाई पराजित गरेको हो ।

चार खेलबाट चार अंक जोडेको भारत अफगानिस्तानलाई नेटरनरेटमा पछि पार्दै तेस्रो स्थानमा उक्लेको छ । न्युजिल्याण्ड ६ अंकसहित दोस्रो स्थानमा छ । अब भारतले नामिबियासँग अन्तिम खेल खेल्न बाँकी छ । त्यसअघि न्युजिल्याण्डले अफगानिस्तानसँग खेल्नेछ ।

भारतको सेमिफाइनल सम्भावना बाँकी रहँदा अफगानिस्तानले न्युजिल्याण्डलाई हराउनुपर्नेछ । यदि न्युजिल्याण्डले जित हात पारेमा भने भारत अन्तिम खेल अघि नै बाहिरिनेछ ।

दुबईमा भएको खेलमा केएल राहुलले यस विश्वकपकै सर्वाधिक छिटो अर्धशतक बनाएपछि भारतले ८५ रनको सामान्य लक्ष्य ६.३ ओभर खेल्दै दुई विकेट गुमाएर पूरा गर्‍यो ।

राहुलले १९ बल खेल्दै ६ चौका र तीन छक्का मद्दतमा ५० रन बनाए । रोहित शर्माले १६ बल खेल्दै पाँच चौका र एक छक्का मद्दतमा ३० रन जोडे । सुर्यकुमार यादवले अविजित ६ रन बनाए । बर्थ डे ब्वाए कप्तान विराट कोहली दुई रनमा अविजित रहे । स्कटल्याण्डका मार्क वाट र ब्राड ह्विलले एक-एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले १७.४ ओभरमा सबै विकेट गुमाएर ८४ रनमा अलआउट भयो । स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक २४ रन बनाउँदा माइकल लिस्कले २१ रन जोडे ।

स्कटल्याण्डलाई अलआउट गर्न भारतका रवीन्द्र जडेजा र मोहम्मद शामीले समान तीन/तीन विकेट लिए । जडेजाले चार ओभरमा १५ रन खर्चेर तीन विकेट लिए । शामीले तीन ओभरमा एक मेडन राख्दै १३ रन खर्चेर तीन विकेट लिए । यस्तै जसप्रित बुमराहले ३.४ ओभरमा एक मेडन राख्दै १० रन खर्चेर दुई विकेट लिए । रविचन्द्रन आश्विनले एक विकेट लिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!