बातावरणमैत्री पुर्वाञ्चल स्तरीय फुटबलमा आज क्वाटर फाइनल चरणका चार खेल हुँदै

Posted on: 24 Aug, 2016

प्रकाश धौलाकोटी | भदौ ८, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा जारी जिल्लाकै सर्वाधिक राशीको बातावरणमैत्री पुर्वाञ्चल स्तरीय खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज क्वाटर फाइनल चरणका चार खेल हुँदैछन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजित प्रतियोगितामा बुधबारको पहिलो खेल इन्द्र दल गुल्म, तेह्रथुम र सुपर स्टार लसुनेबीच हुनेछ ।

 दोस्रो खेलमा एनवाईसी धरान र सृजनशील युवा क्लब नागदह, तेह्रथुमबीच प्रतिष्पर्धा हुनेछ । तेस्रो खेलमा आयोजक सिनियर र लुङछाता युवा क्लब छातेढुंगा तेह्रथुम भिड्नेछन् । अन्तिम खेलमा हिमालयन सहकारी संस्था धनकुटा र यातायात मजदुर क्लब तेह्रथुम  सेमीफाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्ने खेल सन्चालन समिति संयोजक राजकुमार तुम्बाहाम्फेले जानकारी दिनुभयो ।

गतवर्ष बाट सामुदायिक चेतना अभिवृद्धि तथा बातावरणमैत्री राष्ट्रिय विकास संस्था (युक्यानडु) ले आयोजना गर्दै आएको प्रतियोगितामा पुर्वाञ्चलका ३२ वटा टिम सहभागी थिए । म्याङ्गलुङस्थित टुंडिखेल मैदानमा सन्चालन भइरहेको प्रतियोगितामा विजेताले नगद १ लाख २० हजार रुपैयाँ र उपविजेताले नगद ५५ हजार रुपैयाँसहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष शिक्षित तुम्बाहाम्फेले बताउनुभयो ।

 जिल्लामा यसअघि यत्तिका राशीको फुटबल प्रतियोगिता सन्चालन नभएको आयोजकको दाबी छ । मेलामा आयोजित धान नाच भाद्र ९ गते साँझ सन्चालन हुने र विजयीले १० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । 

मेलाले जिल्लाको सांस्कृतिक पहिचान र परम्पराको जगेर्नासँगै युवाहरुमा क्षमता अभिवृद्धि र खेल विकास गराउने आयोजकको लक्ष्य छ । भाद्र १० गतेसम्म चल्ने प्रतियोगिता अन्तर्गतको यो संस्करणलाई पाथीभरा मिडिया ग्रुप प्रवास र साल्ट ट्रेडिङ कर्पोरेसन काठमाडौँले मुख्य प्रायोजन गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!